उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नो योजनाका विषयमा मानिसहरूलाई अनुमानमा भुलाउने गरेका छन् । अनि उनको जीवनमा रहेका महिलाहरूका विषयमा पनि किमले विश्लेषकहरूलाई रनभुल्ल पार्ने गरेका छन् ।
किमको भित्री वृत्तमा तीनजना बलिया तथा सुन्दर महिला छन् । तीमध्ये एकजना उत्तर कोरियाकी पपस्टार हुन् र किमकी प्रेमिका समेत हुन् ।
हालैका दिनमा किमकी बहिनी किम यो जोङले मिडियाको निकै ध्यान आकर्षण गरिन् । शक्तिशाली संगठन तथा निर्देशन विभागकी प्रमुख यो जोङ किमको मृत्यु भएमा वा उनी काम गर्न नसक्ने गरी बिरामी भएमा देशको अर्को नेता हुने विभिन्न समाचार आए ।
तर किमकी पत्नी री सोल–जुको प्रभाव पनि बढिरहेको छ र उनले कुनै यो प्रभाव हल्लाखल्ला नगरिकन अनि कसैको ध्यान आकर्षण नगराइकन हासिल गरेकी हुन् । कुनै बेलाकी गायिका रीको किमसँग मागी विवाह भएको हो ।
‘किमकी पत्नीलाई राजनीतिक खेलाडी बन्ने कुनै महत्त्वाकांक्षा छैन तर सम्भ्रान्त वर्गले उनको सम्मान गर्छ,’ उत्तर कोरियाको विश्लेषण गर्ने ब्रुस बेख्तोलले बताए । उनी अमेरिकाको डिफेन्स इन्टेलिजेन्स एजेन्सीका पूर्व सदस्य हुन् ।
‘उनी अत्यन्तै राम्री छिन् र किमलाई केही भइहाले पनि आफू र आफ्ना सन्तान सुरक्षित हुने उनलाई थाहा छ । उनीहरूले रीलाई मार्दैनन्, बढी नै गरे भने देशबाट बाहिर पठाउँछन् होला ।’
तर यी दुईबाहेक किमको जीवनमा अर्की एक महिला छिन् । किमकी प्रेमिका मानिने ह्योन सोङ–वोल मोरानबोङ सांगीतिक समूहकी गायिका हुन् । उनी पनि कुनै बेलामा मरेको ठानिएको थियो ।
तर उनी मरेको खबर झूटो ठहरियो । अहिले उनी किमकी निकट सहयोगी हुन् र किमकी बहिनीले कुनै बेलामा ओगटेको डाइरेक्टर अफ दी इभेन्ट पद उनले सम्हालिरहेकी छन् ।
केही समाचारहरूमा किमलाई ह्योनसँग विवाह गर्न किम जोङ इलले रोकेको तर उनको मृत्युपछि दुईजनाबीच रोमान्टिक सम्बन्ध पुनः कायम भएको लेखिएको छ ।
‘ह्योन शक्तिशाली महिला हुन्,’ उत्तर कोरियाबाट भागेर अमेरिकामा बसिरहेका जेसन ली बताउँछन् । ‘उनी किमपत्नी रीभन्दा शक्तिशाली छिन् तर बहिनी यो जोङ जति शक्तिशाली चाहिँ हैनन् ।’
‘किम आफ्नी पत्नीलाई माया गर्छन्,’ एनके लीडरशिप वाचका निर्देशक तथा संस्थापक माइकल म्याड्डेनले बताए । ‘तर ह्योनको संलग्नता पनि एक हदसम्म बलियो छ ।’



