म्याड्रिड । स्पेनकै सबैभन्दा वृद्ध ठानिएकी एक ११३ वर्षीया वृद्धा कोरोनाभाइरसमुक्त भएकी छिन् । अवकाश जीवन बिताउने केएर होममा बस्दै आएका अरु धेरै जना वृद्धवृद्धाको मृत्यु भए पनि ११३ वर्षीया वृद्धाले कोरोनाभाइरसलाई परास्त गर्न सफल हुनु भएको छ ।

अमेरिकामा जन्मिएकी मारिया ब्रानयासलाई गत अप्रिलमा कोरोना संक्रमण भएको थियो । उनी विगत २० वर्षदेखि स्पेनको पूर्वी शहर ओलोटको सान्टा मारिया डेल टुरा केएर होममा बस्दै आएकी थिइन् । उनमा श्वासप्रश्वासको समस्या देखिएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

केएर होमकी प्रवक्ताले मारिया बाँच्न सफल हुनुभएको र अहिले स्वास्थ्य अवस्था निकै राम्रो रहेको बताइन् । उनले भनिन्, ‘मारियाको गत साता स्वास्थ्य परीक्षण गरिएको थियो र उहाँको नतिजा नेगेटिभ देखिएको थियो ।’

तीन सन्तानकी आमा मारियालाई केही साता उनकै कोठामा आइसोलेसन (एकान्तबास) मा राखिएको थियो । उनको देखभालका लागि एक जना कर्मचारीलाई व्यक्तिगत सुरक्षा सामग्री लगाएर खटाइएको थियो । क्याटालान टेलिभिजन टिभी३ ले शताब्दी वृद्धाको समाचार कथा प्रशारण गरेको छ । टेलिभिजन फुटेजमा मारियाले आफूलाई केएर होमका कर्मचारीले निकै माया गरेको बताएकी छिन्।

एक जना कर्मचारीले यति दिर्घ जीवनको रहस्य के होला भनेर सोधेको प्रश्नको जवाफमा मारियाले भनिन्, ‘म स्वस्थ रहन पाएकामा आफूलाई निकै भाग्यमानी सम्झन्छु ।’ यस केएर होममा कोरोनासँग सम्बन्धित स्वास्थ्य जटिलताका कारण धेरै जनाको ज्यान गएको केएर होमकी प्रवक्ताले बताइन् ।

मारियाका बारेमा हालैका वर्षहरुमा स्पेनी मिडियामा धेरै लेखरचना प्रकाशन भइसकेका छन् । उनी स्पेनमै सबैभन्दा बढी उमेरकी व्यक्तिका रुपमा सम्मानित रहेकी छिन् । मारियाको जन्म अमेरिकाको सान फ्रान्सिस्कोमा मार्च ४, १९०७ मा भएको थियो । उनका स्पेनी बुबा अमेरिकामा पत्रकार थिए ।

मारिया आफ्ना परिवारका साथ पहिलो विश्वयुद्धताका डुंगा चढेर स्पेन फर्किएकी थिइन् । उनी सन् १९१८–१९ को स्पेनी फ्लु र सन् १९३६–३९ को स्पेनी गृहयुद्धमा पनि बाँच्न सफल भएकी थिइन् । स्पेनी स्वास्थ्य मन्त्रालयका अनुसार हालको कोरोनाभाइरसको महामारीबाट स्पेनमा २७ हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । युरोप र अन्य क्षेत्रका मुलुकझैं स्पेनमा पनि ज्येष्ठ नागरिकहरु कोरोनाभाइरसबाट सर्वाधिक प्रभावित भएका छन् । –एएफपी