हङकङमा चीनको राष्ट्रगानलाई अपमान गर्ने कामलाई फौजदारी अपराध बनाउने विधेयकका विषयमा बहस गर्न सांसदहरू भेला भएका छन् । चीनविरुद्ध प्रदर्शन गरिरहेकाहरूमाथि प्रहरीले खुर्सानीको छर्रा (पेप्पर पेलेट) प्रहार गरेको छ । विभिन्न ठाउँमा विरोध प्रदर्शन भइरहेका छन् र दर्जनौं मानिसलाई पक्राउ गरिएको छ ।
हङकङमा चीनविरोधी भाव उच्च रहेको बेलामा विधेयकमाथि बहस चलिरहेको हो । केही दिनअघि चीनले राष्ट्रिय सुरक्षा कानून कार्यान्वयन गर्ने प्रस्ताव गरेको थियो । त्यसको पनि विरोध भएमो थियो । आलोचकहरूका अनुसार, उक्त विधेयकमार्फत हङकङको स्वतन्त्रता खुम्च्याउने प्रयास गरिँदैछ ।
तर हङकङकी नेत्री क्यारी लामले राष्ट्रिय सुरक्षा कानूनले देशद्रोह, पृथक्तावाद, राज्यद्रोह र राज्यविप्लवलाई प्रतिबन्ध लगाउँछ र यसले हङकङवासीको अधिकार हनन गर्दैन भनेकी छन् ।
अहिले बहस भइरहेको राष्ट्रगान विधेयकले चीनको राष्ट्रगानको दुरुपयोग वा अपमान गर्ने जोकोहीलाई ५० हजार हङकङ डलरसम्मको जरिवाना र तीन वर्षसम्मको कारावास सजाय तोकेको छ ।
बुधवार लेजिस्लेटिभ काउन्सिलमा यो विधेयकमाथिको बहस भएको हो र सेकेन्ड रीडिङ पारित भएमा थर्ड रीडिङमा जान्छ अनि जुन महिनाको आरम्भतिर यसमा मतदान गराइनेछ ।
दंगा प्रहरीले संसद् भवन घेराउ गरेर सडकमा कोर्डन लगाएको थियो । तैपनि सयौं विरोधकर्ताहरू सडक रोक्दै र नारा लगाउँदै भेला भएका थिए ।
दिउँसो विरोधकर्ताहरू सडकमा दौडिँदै गर्दा प्रहरीसँग झडप भएको थियो । प्रहरीले खुर्सानीको छर्रा उनीहरूमाथि प्रहार गरेको थियो । विरोधकर्ताहरूले अन्य ठाउँमा पनि ट्राफिक अवरोध गरेका थिए । लगभग ८० जनालाई पक्राउ गरिएको स्थानीय सञ्चारमाध्यमले लेखेका छन् । तीमध्ये केहीसँग घातक हतियार रहेको बताइएको छ ।



