सुरक्षा सुवेदी

कोरोना भाइरसका कारण अहिले देश बन्दाबन्दीको अवस्था छ। बालबालिकाको स्कुल सञ्चालन हुन सकिरहेको छैन। यो अवस्था कहिलेसम्म लम्बिने हो, यकिन गर्न सकिने अवस्था पनि छैन।

नेपालमा केही बच्चा पनि कोरोना भाइरसबाट संक्रमित भएको प्रमाणित भएको छ। यस्तो अवस्थामा अभिभावक झनै सचेत भई कोरानाको संक्रमणबाट बच्ने सुरक्षाका उपायहरु अवलम्बन गरिरहन जरुरी छ।

बन्दाबन्दीसँगै मौसम परिवर्तन भएर गर्मी बढ्दै गएको छ। बालबालिकाको प्रतिरोधात्मक शक्ति त्यसै पनि कमजोर हुने हुँदा मौसम परिवर्तनसँगै चाँडै रोगले सताउने गर्छ।

बालबालिकाहरु घर–कोठामै थन्किन बाध्य भएका कारण गत वर्षहरुझैं बाहिर घुमफिर गर्न पाएका छैनन्, जसका कारण बजारमा उपलब्ध हुने विभिन्न जंकफुड तथा खानेकुरा खान पाएका छैनन्। त्यसैले उनीहरुलाई हिजो–आजका दिनमा मौसमी रोग थोरै लाग्नु स्वभाविक हो। तर यसो भए पनि घरमै रहेका बालबच्चाले घरमै खरिद गरिराखेका विभिन्न जंकफुड खाने र अभिभावक पनि लामो समय घरमै बस्नुपरेको दिग्दारीका कारण बच्चालाई उचित स्याहार नगर्दा र खानामा लापरबाही गरिदिँदा उनीहरु बिरामी पर्न जान्छन्।

यो समयमा बालबालिकालाई झाडापखाला, ठेउला, दादुरा तथा विभिन्न एलर्जीका समस्या देखा पर्छन्। फ्रिजमा भएको चिसो खानेकुरा र अन्य चिसो पेय पदार्थ खाइरहँदा हाडे आउने सम्भावना प्रबल हुन्छ। गर्मी मौसममा औलो, मस्तिष्क ज्वरो तथा तराई क्षेत्रमा मलेरिया हुनसक्छ।

झाडापखाला लाग्दा उचित ध्यान नपु¥याउँदा जलवियोजन भई समयमा उपचार भएन भने बालबालिकाको मृत्युसमेत हुनसक्छ। झाडापखाला लाग्दा जंकफुड खुवाउनु हुँदैन भने झोलिलो खानेकुरा खुवाउने बहानामा कोक, फेन्टा, फ्रुुटी जस्ता पेय पदार्थ खुवाउनु हुँदैन।

बन्दाबन्दीको यस्तो अवस्थामा केही सानातिना समस्या आइहाले तुरुन्तै स्वास्थ्य संस्थामा लगिहाल्ने परिस्थति छैन। सम्बन्धित चिकित्सकसँग भौतिक रुपमा भेट्न नसके पनि फोनबाट वा इन्टरनेटको माध्यमबाट सल्लाह–सुझाव लिन सकिन्छ। तर औषधि पसलबाट चिकित्सकको सिफारिस विनाका औषधिहरु जथाभावी सेवन गराउनु हुँदैन।

बन्दाबन्दीले हामी सबै फुर्सदिला छौँ। धेरै घरमा आजकाल युट्युबको माध्यमबाट सिकेर विभिन्न परिकार बनाउँदै खाँदै गरेको देखिन्छ। तर यसले एकातिर फाइदा र समयको सदुपयोग गरे पनि उचित मात्रामा शारीरिक व्यायामका अभावका कारण बालबालिकामा मोटोपन बढ्दै गएको छ र त्यसको भविष्यमा नकारात्मक असर पर्छ।

त्यसैले मुख्य रुपमा अभिभावक बढी चनाखो हुनपर्छ र बालबालिकाको खानपानमा विशेष सावधानी अपनाउनु पर्छ। गर्मी मौसममा लामखुट्टे, झिँगा तथा अन्य किराफट्याँग्रा बढी सक्रिय हुने हँदा त्यसबाट बच्न झुलको प्रयोग तथा घरवरिपरि एवं भान्सा कोठाको सरसफाइमा ध्यान दिन जरुरी छ।

यसरी हेरचाह गर्न सकिन्छ
– नवजात शिुशहरुलाई पंखा वा एसीको हावा सिधा पर्ने गरी नराख्ने। गाउँघरतिर भए सित्तल ठाउँमा वा रुखको छहारीमुनि बस्न सकिन्छ।

– प्रशस्त मात्रामा झोलिलो चिजहरु (दाल तरकारीको रस, गेडागुडी) खुवाउने।

– पानी प्रशस्त पिउने बानी बसाल्ने। उमालेर मात्र पानी पिउने।

– बच्चाहरुलाई डायपर लगाउँदा विशेष सावधानी अपनाउने। कपडाको न्याप्किन प्रयोग गर्ने।

– ताजा मौसमी फलफूल (खर्बुजा, केरा, अंगुर, मेवा) खुवाउने।

– स्तनपान गर्ने बालबच्चालाई बारम्बार आमाको दूध खुवाउने।

– धेरै तारेको, भुटेको, मसालेदार, बासी खानेकुरा नखुवाउने। एकै पटक धेरै खाना नखुवाउने, थोरैथोरै गर्दै दिनको ४–५ पटक खुवाउने।

– ज्वरो आउँदा वा रुघाखोकी लागेको समयमा तुलसीको पातको रस खुवाउन सकिन्छ।

– दूध अनि कहिलेकाहीँ दहीलाई मोही बनाएर वा कागतीको रस र पानी सर्वत बनाएर खुवाउन सकिन्छ। कागतीको सेवनले रोग प्रतिरोधात्मक शक्ति वृद्धि गर्छ।

– बालबालिकालाई दैनिक वा एक दिन बिराएर नुहाइदिनुपर्छ। बेलाबेलामा साधारण मालिस गरिदिएमा रक्तसञ्चारको सन्तुलनमा महत्वपूर्ण भूमिका हुन्छ।

– काँक्रो, गाँजर, मुलालाई राम्रोसँग धोइपखाली गरी सलादको रुपमा सेवन गर्ने।

– बिहान–बेलुका एक कप मनतातो पानीमा मह हालेर खुवाएमा ऊर्जा प्राप्त हुन्छ।

(सुवेदी बाल स्वास्थ्य नर्स हुन्)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय