लक्ष्मी बर्देवा फिल्म ‘कागजपत्र’ ‘घामपानी’, ‘डमरुको डन्डीबियो’, ‘जालो’, ‘मिस्टर झोले’ लगायत फिल्ममा उनले काम गरेकी छिन्। प्रायः कलाकार रंगमञ्चबाट फिल्मतिर लम्किन्छन्। तर, लक्ष्मी फिल्म हुँदै रंगमञ्चतिर डोरिएकी हुन्। ‘युमा’, ‘जार’, ‘सुनकेशरी’, ‘माथा पन्चर’ लगायत नाटकमा उनले अभिनय गरिसकेकी छिन्। अहिले रंगमञ्चभन्दा फिल्ममा बढी व्यस्त भएको उनी बताउँछिन्।

लक्ष्मीलाई स्कुल पढ्दादेखि नै अभिनयमा रुचि थियो। उनले स्कुल पढ्दाताका केही नाटकमा अभिनय गरिन्। ‘त्यतिखेर मलाई नाटक पढ्न पाइन्छ, सिक्न पाइन्छ भन्ने थाहा थिएन,’ उनी भन्छिन्।

चाबहिलमा रहेको आइडल कलेजबाट उनले प्लस टू पढिन्। कलेज टप गरेकाले उनको तस्बिर कलेजको ब्रोसरमा छापियो। उनी सम्झिन्छिन्, ‘ब्रोसरमा छापिएको तस्बिरले नै मलाई फिल्म क्षेत्रमा पु¥यायो।’

कलेजको ब्रोसरमा छापिएको तस्बिर देखेपछि उनलाई फिल्म ‘माला’ का लागि प्रस्ताव आयो। अभिनयको औपचारिक तालिम नलिए पनि उनले यसअघि एनटीभी प्लसबाट प्रसारण हुने ‘मीठो सम्झना’ टेलिफिल्ममा अभिनय गरिसकेकी थिइन्। ‘टेलिफिल्ममा काम गरिसकेकाले मेरा लागि क्यामरा नौलो थिएन,’ उनी सम्झिन्छिन्, ‘फिल्ममा काम गरिसकेपछि चाहिँ अभिनय सिक्ने सोच बनाएँ।’ तर, कहाँ जाने ? के गर्ने ? केही थाहा थिएन।

केही समयपछि उनले अभिनेता/निर्देशक अनुप बरालको सम्पर्क नम्बर पाइन्। क्लास लिने समय नमिल्दा अभिनय सिक्न सकिनन्। पछि उनले एक जना साथीबाट अभिनेता आशान्त शर्माको फोन नम्बर पाइन्। ‘पटक–पटक फोन गरेर आशान्त सरलाई नाटक सिक्न मन छ भन्न थालेँ,’ लक्ष्मी भन्छिन्, ‘धेरै पटक फोन गर्दा उहाँ दिक्क हुनुभएको थियो। पछि एउटा नाटक गर्दा मलाई हेर्न बोलाउनुभयो।’

नाटक थियो, ‘उम्बुगल्यान्डको मुठभेड’। त्यसमा लक्ष्मीले पनि अभिनय गर्ने अवसर पाइन्। ‘कलाकारका लागि खाजा ल्याउँदाल्याउँदै मैले पनि कलाकार बन्ने मौका पाएँ,’ उनी भन्छिन्, ‘आशान्त सरको असिस्टेन्ट भएर काम गर्थें। नाटकका कलाकारका लागि खाजा बोक्ने गर्थें। त्यहाँ कलाकारहरूसँग घुलमिल हुने मौका पाएँ।

नाटक सकिएपछि मण्डला थिएटरमा उनी स्वयंसेवी भएर काम गर्ने प्रयास गर्न थालिन्। तर, सफल भइनन्। भन्छिन्, ‘पछि सम्पर्क गर्छु भनिएको थियो मण्डला थिएटरबाट।’ लक्ष्मीले मण्डलामा न आफ्नो सम्पर्क नम्बर छोडिन, न त्यहाँको नम्बर ल्याइन्। त्यसपछि केही महिना घरैमा बसिन्। घर बस्दा ‘धुलो’ फिल्ममा काम गर्ने मौका पाइन्।

फिल्मका क्रममा मण्डला थिएटरका राजन खतिवडासँग भेट भयो। राजनले उनलाई थिएटरमा स्वयंसेवी भएर काम गर्ने मौका दिए, सँगै छात्रवृत्ति पनि। ‘दुई वटा फिल्ममा अभिनय गरिसकेपछि मात्र मैले औपचारिक रूपमा अभिनय सिक्न पाएँ,’ उनी भन्छिन्।

नाटक सिकिरहँदा घरमा काम गर्न गएको भन्ने गरेको उनी बताउँछिन्। ‘नाटकबाट आउने पैसा आफूले खर्च नगरी घरमा दिने गर्थें,’ उनी भन्छिन्, ‘घरपरिवारले मेरो रुचिलाई अस्वीकार गर्ला कि भन्ने डर थियो।’ हुन पनि त्यस्तै भयो, नाटक सिकिरहेको थाहा पाएपछि केही समयसम्म उनका बुबा रिसाएका थिए।

भन्छिन्, ‘सुरुमा बुबा मान्नुभएन तर आमाले भने सधैँ साथ दिनुभयो। पछि मेरो अभिनय देखेपछि बुबा खुशी हुनुभयो।’

रंगमञ्चमा छिरेपछि उनलाई नाटकको कहिल्यै खाँचो परेन। चार वर्षसम्म लगातार अभिनय सिक्दै नाटक गरिरहिन्। ‘कति नाटक बिनापारिश्रमिक गरेँ, कतिपय भने निकै कम पारिश्रमिकमा गरेँ,’ उनी सुनाउँछिन्। फिल्म ‘घामपानी’ बाट उनको अभिनय यात्रा फेरि सिनेमातिर मोडियो। भन्छिन्, ‘चार वर्षसम्म रंगमञ्चमा रमाइरहेँ। त्यहाँ हुँदा फिल्मतिर ध्यानै गएन।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय