चीनले भारतको सीमा नजिक हतियारले भरिएका गाडीसहित हजारौं सेना परिचालन गरेको छ। हालै हुपेइ प्रान्तमा गरिएको सैन्य अभ्यास लगत्तै चीनले आफ्नो सेना भारतीय सिमानामा तैनाथ गर्न थालेको हो।

चीनका हजारौं सेना र हतियार सम्पन्न गाडीहरु हुपेइ प्रान्तबाट हाल भारतसँग विवाद भइरहेको लद्दाखको सीमा क्षेत्रमा पुगेका हुन्। चीन र भारतबीच पछिल्ला केही हप्तादेखि कास्मिरको लद्दाख क्षेत्रमा सीमा विवाद बढेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यो क्षेत्रमा चिनियाँ र भारतीय सेनाबीच तनाव बढेसँगै गत शनिबार सेनास्तरीय वार्ता भएको थियो। सोही दिन चिनियाँ जनमुक्ति सेनाले मध्य चीनको हुपेइमा सैन्य अभ्यास गरेका थिए, जसलाई चीनको सरकारी सीसीटीभीले सार्वजनिक गरेको थियो।

मे महिनाको सुरुदेखि चिनियाँ र भारतीय सेनाहरु लद्दाख नजिकको विवादित सीमा क्षेत्रमा आमनेसामने भएका छन्। त्यहाँ झडपकै अवस्था निम्तिएको छ। गलवान उपत्यका र पेङगोङ ताल दुवै भारत र चीनको सिमानामा पर्छ। दुवै देशले यी क्षेत्र आफ्नो भएको दाबी गर्छन्।

चीनले विवादित क्षेत्रमा गतिविधि बढाएको आरोप लगाउँदै भारतले त्यहाँ आफ्नो सैन्य शक्ति थपेको छ। चीनले पनि भारतीय पक्षले गतिविधि बढाएको आरोप लगाएको छ।