सामाजिक सञ्जाल सगुनले नेपालका केही सञ्चारमाध्यममा भ्रामक समाचार प्रकाशित गरिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

सगुनलाई अमेरिकाको धितोपत्र तथा विनियम आयोगबाट शेयरसम्बन्धी कारोबार गर्न अनुमति प्राप्त भएको दावी गर्दै उसले भनेको छ,‘सोही आयोगको नियमभित्र रही सोही निकायले नियमन गर्दै आइरहेको छ ।’

नेपालीहरुको सक्रियतामा अमेरिकाको डेलावयर राज्यमा कानुनीरुपमा दर्ता भएर विश्वभर सामाजिक सञ्जालको रुपमा फैलिएको सगुनका सम्बन्धमा नेपालका केही सञ्‍चारमाध्यम तथा समाजिक सञ्जालहरुमा प्रकाशित भ्रामक समाचारप्रति ध्यानार्कण भएको जनाएको हो ।

इन्डिया प्राइभेट लिमिटेडको रुपमा दर्ताभइ भारतीय रिजर्व बैंकद्वारा असीमित रेमिट्यान्स कारोवार गर्ने सगुनले भारतमा सन् २०१५ मा अनुमति प्राप्त गरेको छ

त्यसैगरी नेपाल सरकारले तोके बमोजिमका सबै दर्ता तथा कानुनी प्रक्रिया पूरा गरी सगुन नेपाल प्राइभेट लिमिटेड दर्ता सन् २०१७ गरिएको छ । साथै नेपाल राष्ट्र बैँकबाट तीन करोड रुपैयाँमा आवश्यकता अनुसार बढाउन सकिने गरी कारोबार गर्न स्वीकृत प्राप्त कम्पनी भएको जानकारी सगुनले गराएको छ ।

हेर्नुहोस् विज्ञप्ति

शुरूमा सन् २०१५ सम्म अमेरिकी कम्पनीहरुमा समेत सर्वसाधारणलाई सेयर किनबेच गर्न अनुमति थिएन । नयाँ परिवर्तित कानुनी व्यवस्थाअनुसार अब एसइसीले योग्य ठहर्याएका कुनै पनि कम्पनीहरुले आफ्नो सेयर (इक्विटी) सर्वसाधारणलाई बिक्री गरी बार्षिक पाँच करोड अमेरिकी डलरसम्मको पूँजी जम्मा गर्न सक्ने छन् ।

सगुन अमेरिकी कानुनअनुरुप अन्य ख्यातिप्राप्त कम्पनी जस्तै अमेरिकाको धितोपत्रसम्बन्धी आयोगबाट योग्य कम्पनीको रुपमा छनौट भएको कम्पनी हो । सगुनले अमेरिकी सरकारको मापदण्ड पूरा गरेको आधारमा सर्वसाधारणबाट पूँजी संकलन गर्ने आधिकारिक रुपमा अनुमति प्राप्त गरेको हो ।

नेपाली र नेपाली मुलका विदेशी नागरिक, गैरआवासीय नेपालीको मुख्य लगानी रहेको सगुन दक्षिण एसियाली मुलुकमा नागरिकले स्थापना गरेको पहिलो अमेरिकी कम्पनी हो । सगुन विदेशमा रहेका लाखौँ नेपालीहरु समक्ष पुर्याउन उत्साहित छ ।

पूँजी निर्माणमा सहभागी हुन पाउने यो विशेष अवसर विश्वभरि रहेका ती सबै नेपालीहरुमा पुर्‍याउन चाहन्छौं । जुन इतिहासमा कहिल्यै प्राप्त हुन सकेको थिएन । यस अवसरका बारेमा भारतका दार्जिलिङ, असम, मणिपुर, भुटान, बर्मालगायत विश्वभरि छरिएर रहेका नेपालीभाषीलाई समेत हाम्रो सञ्जालमा जोड्न चाहन्छौं । सो सञ्जाल जोड्नका लागि नेपाली सञ्‍चार माध्यमको महत्वपूर्ण भूमिका रहन्छ ।

सगुनको विश्वव्यापी लक्ष्य भनेको सामाजिक मिडियाको प्रयोग गर्ने तरिका परिवर्तन गर्नु हो । मानिसलाई यस सञ्जालमा फरक तरिकाले अन्तरक्रिया गर्ने साँझा मञ्च ९प्लेटफर्म० उपलब्ध गराउन चाहन्छौँ । विश्वभरका प्रयोगकर्ताहरुलाई आइफोन, एन्ड्रोइड फोन तथा डेस्कटपहरुमा सगुन प्रयोग गर्ने सुविधासहित सेवा उपलब्ध गराउँदै आइरहेका छौँ ।

हालसम्म विश्वका १ सय २० भन्दा बढी राष्ट्रहरुबाट ७० लाखभन्दा बढी प्रयोगकर्ताहरु सगुनको प्लेटफार्ममा जोडिएका छन् । जसमध्ये धेरै प्रयोगकर्ताहरु नेपाल, भारत र अमेरिकामा छन् । हालसम्म विश्वभरबाट ४ हजार भन्दा बढी सर्वसाधारण व्यक्तिहरुले ६० लाख अमेरिकी डलर भन्दा बढी रकम सगुनमा लगानी गरिसकेका छन् । सुगनका लगानीकर्ताहरु अमेरिका, बेलायत, अष्ट्रेलिया, दक्षिण कोरिया र भारतका रहेका छन् ।

नेपालमा कम्पनी स्थापना गरेर क्रियाकलाप गर्नुको उद्देश्य नेपालको रकमलाई विदेशमापुर्‍याउनु होइन । बरु विदेशबाट नेपालमा रेमिट्यान्स भित्र्याउनु, नेपालमा रोजगार सिर्जना गर्नु, व्यवसायका नयाँ र इनोभेटिभ अवसरहरु पत्ता लगाउनु र नेपाललाई आर्थिक सम्वृद्धिका क्षेत्रमा टेवापुर्‍याउनु नै हो । साथै अमेरिका, युरोप, क्यानडा, अष्ट्रेलियालगायतका पश्चिमी मुलुकहरुमा बर्षौँदेखि बसोबास गर्दै आइरहेका नेपाली डायस्पोराले हाँसिल गरेको ज्ञान र अनुभवलाई नेपालको उन्नतिमा साझेदारी गराउनु पनि सगुनको लक्ष हो ।

हामी सबैलाई थाहा भएकै कुरा हो कि नेपालमा १ करोड ५० लाख भन्दा बढी व्यक्तिहरु विभिन्न सामाजिक सञ्जालहरु प्रयोग गर्दछन् । नेपालका यति धेरै प्रयोगकर्ताहरुले प्रयोग गर्ने सामाजिक सञ्जालहरुमा राखिएको विज्ञापनबाट अन्तर्राष्ट्रिय सामाजिक सञ्जालहरुले बार्षिक करिव २२ अरब रुपैयाँ नेपालबाट कमाउँछन् । त्यो रकम नेपालमा नै रहोस् भन्ने चाहना र कोसिस सगुनको रहेको छ, रहिरहने छ ।

ग्लोबल ब्राण्ड स्थापना गर्ने प्रवासी नेपालीहरु मध्ये सगुन पहिलो सुरुवातकर्ता हो । सगुनले नयाँ गोरेटो कोर्दै नेपाली नयाँ पुस्ताहरुलाई प्रेरणा दिन चाहन्छ । हाम्रो सफलताले नवीनतम सोच र काममार्फत विश्वसँग प्रतिस्पर्धा गर्न नेपाली नयाँ पुस्तालाई आत्मविश्वास जगाउन सक्छ भन्ने हाम्रो विश्वास रहेको छ ।

केही संचार माध्यमा आएका गलत समाचारका प्रकाशित तथ्यहरुलाई निम्न बुँदाहरुमा प्रष्ट पार्न चाहन्छौँ ।

१. सगुनको नाम र ब्राण्ड सुरक्षित गर्न मात्र सगुनको डोमेन नाम सन् २००६ मा दर्ता गरिएको थियो । पछि सगुन कम्पनीका रुपमा अमेरिकाको डेलावयर राज्यमा दर्ता गरिएको थियो तर हालको सगुनको प्रारम्भिकरुपमा सन् २०१४ देखि मात्र काम सुरु भएको हो । यसको पहिलो वेभसाइट सन् २०१५ अक्टुवरमा नेपालमा सुरु गरिएको थियो । त्यसैले बजारमा सगुन मात्र ४ वर्षको मात्र भएको छ ।

२.’स्टार्ट-अप’ भन्ने शब्दसँग कोही अलमलिनु जरुरी छैन । ‘स्टार्ट-अप’ शब्दको धरातलीय अर्थ भर्खर सुरु गरिएको भन्ने भएता पनि यसको वास्तविक अर्थ (यस क्षेत्रमा) हालसालै स्थापना गरिएको भन्ने अर्थमा मात्र सीमित हुदैन । लामो समयदेखि विश्वबजारमा विश्वविख्यात कम्पनीहरुले समेत ‘स्टार्ट-अप’ लेख्ने प्रचलन रहेकोछ । ‘स्टार्टअप ‘कम्पनी ले नयाँ आइडिया बजार ल्याउने तथा नयाँ प्रविधिको खोजी गर्दछन् । बजारमा हेर्ने हो भने पनि ठूलै मात्रामा सर्वसाधारणले प्रयोग गरिरहेका प्रोडक्टहरुका उत्पादक कम्पनीहरुलाई समेत ‘स्टार्ट-अप कम्पनी’ नै भनिएको पाइन्छ ।

३. नेपालको लगानीसम्बन्धी कानुनका कारण सगुनले नेपालीबाट कुनै लगानीको अपेक्षा राख्दैन र नेपालको धितोपत्र बजारमा सगुनलाई दर्ता गर्नु पर्ने आवश्यक छैन । सगुनले अमेरिकी सेक्युरिटिज कानून अनुसार अनलाइनबाट लगानी जुटाइरहेको छ जसमा इच्छुक लगानीकर्ताहरुले अनलाइनमार्फत् लगानी फर्म भर्नु सक्दछन् । डेविट वा के्रडिट कार्ड, चेक तथा वायर ट्रान्सफर गरेर लगानीको रकम पठाउनु पर्दछ जुन नेपालबाट सम्भव पनि छैन ।

४. सगुनले धितोपत्र तथा विनिय आयोगमा पेश गरेको आर्थिक प्रतिवेदनलाई गलत ढंगले अपव्याख्या गर्दै आमसर्वसाधारण र लगानीकर्तालाई समेतको विश्वासमा भ्रमित गर्ने गरी आएका समाचारप्रति दुःख व्यक्त गर्दछौं । सामान्यतया, लेखापरिक्षणको भाषामा, कम्पनीले आफ्नो इक्विटी बिक्री गरी संकलन गरेको कोषलाई घाटाको रुपमा लेखांकन गरिन्छ, तर वास्तवमा यो घाटा होइन् ।यसरी संकलन गरिएको पूँजीलाई कम्पनीले आफ्ना एप्लिकेसनहरु विकास गर्न र प्रयोगकर्ताहरु बढाउन उपयोग गर्छ । जसले वास्तविक अर्थमा कम्पनीको बौद्धिक सम्पत्ति बढाउँछ । यसैको आधारमा कम्पनीको मूल्याकंन ९भ्यालुएशन० मा वृद्धि हुन्छ । सगुन रेगुलेसन ए प्लस अन्तर्गतका अन्य कम्पनीहरुको आह्वान पत्र र वित्तीय प्रतिवेदनहरु हेर्ने हो भने सगुनमा प्रयोग गरिएको भाषा नै प्रयोग भएको देख्न सकिन्छ । सगुनको आर्थिक प्रतिवेदनका कुराहरुको अध्ययन गर्न सम्वन्धित पक्षहरुलाई अनुरोध गर्न चाहन्छौँ ।

५.स्थिर वा विकासको चरणमा रहेका कुनै पनि कम्पनीहरुमा गरिएको लगानी जहिले पनि जोखिमपूर्ण नै हुन्छ भने सगुन जस्ता प्रारम्भिक चरणका कुनै पनि कम्पनीहरुमा गरिने लगानी सधैँ चुनौतिपूर्ण रहेको हुन्छ । तर यस्ता प्रारम्भिक चरणका कम्पनीहरु सफल भएमा यिनीहरुमा गरिएको लगानीले उच्च प्रतिफल दिने सम्भावना पनि त्यतिकै उच्च हुन्छ । त्यसैले सगुनमा लगानी गर्न इच्छुक लगानीकर्ताहरुलाई लगानीको निर्णय लिनु अघि जोखिमका कारकहरुको जाँच र अध्ययन गर्नु हुन अनुरोध गर्दछौँ।

नविनतम सोच र विश्वासका साथ विश्व बजारमा प्रतिस्पर्धा गर्ने हिम्मतका साथ नेपालीमूलका प्रवासीको पहलमा स्थापना भएको र बामे सर्दै गरिरहेको पहिलो कम्पनी सगुनलाई सफल बनाउन विश्वभरिबाट नेपाली समुदायबाट सकारात्मक र सिर्जनशील सुझाव र सल्लाहको अपेक्षा गर्दछौँ ।

सगुन ब्राण्डलाई बिगार्ने गलत मनसायबाट तथ्य कुराहरुका बारेमा जानकारी नलिई कपोलकल्पित झुटा कुराहरु प्रचारप्रसार गरी सगुनका लगानीकर्ता, शुभचिन्तक तथा प्रयोगकर्ताहरुमा भ्रम सिर्जना गर्ने उद्देश्यका साथ आएका सम्पूर्ण समाचारहरुको खण्डन गर्दछौँ ।

अमेरकामा दर्ता भएर नेपालको कानूनलाई पूर्ण रुपमा पालना गर्दै नेपालमा समेत कार्यालयको स्थापना गरी सञ्चालन भएको सगुन कम्पनीका सम्वन्धमा दुवै देशका नियम कानुन अनुरुप संचालित छ । र भर्खरै सुरु भएको ‘स्टार्ट अप’ कम्पनीको काम गर्ने तरिकाका बारेमा सीमित सूचनामा प्राप्त गरेको भरमा भ्रमपूर्ण जानकारी सम्प्रेषण नगर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौँ । यस्तै सगुनलाई विश्वास र माया गर्नुहुने सम्पूर्ण लगानीकर्ता, शुभचिन्तक तथा प्रयोगकर्तालाई यस्ता भ्रम र अन्योलमा नपर्न यसै विज्ञप्तिमार्फत् अनुरोध गर्दछौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय