काठमाडौं । अमेरिकाले हरेक वर्ष डाइभरसिटी भिषा (डिभी) खुला गर्छ । यो वर्ष पनि डिभीको रिजल्ट सार्वजनिक भइसकेको छ । तर कोरोना भाइरसको महामारीका कारण डिभी परेकाहरु पनि अमेरिका जान नपाउने भएका छन्। अमेरिकाले आप्रवासीहरूलाई सन् २०२० को अन्त्यसम्म नै प्रवेशमा रोक लगाएपछि डीभी लोटरी परेका नेपाली पनि अमेरिका जान नपाउने भएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको आदेश पछि अमेरिकाले यो नियम लागू गरेको हो । अमेरिकी सरकारले सन् २०२० को अन्त्यसम्मका लागि कामदार भिसा र अधिकांश आप्रवासी भिसामा रोक लगाएको छ । जसका कारण सन् २०२० का लागि डिभीमा छनौट भएका नेपालीहरूले पनि भिसा नपाउने भएका हुन् ।

अप्रिल २३ देखि लागु गरिएको आप्रवासन भिसाको प्रतिबन्ध बढाएर डिसेम्बरको अन्त्यसम्म बनाइएको छ । योसँगै सन् २०२० को डीभी लोटरीका लागि छनौट भएका २६ सय भन्दा धेरै नेपालीहरु पनि अमेरिका जान नपाउने भएका हुन् ।

उनीहरुले आगामी सेप्टेम्बरको अन्त्यसम्मा भिसा पाइसक्नुपर्ने नियम भएपनि यो वर्ष कोरोनाका कारण परिवर्तन भएको छ । डिभी परेर अमेरिका जान तयार भएर बसेका नेपालीहरुले डिसेम्बरको अन्त्यसम्म लगाएको आप्रवासन रोकले भिसा नपाउने निश्चित भएको छ ।

सेप्टेम्बरसम्म भिसा नपाएपछि सन् २०२० को डिभी समाप्त हुने नियम रहेको छ । डीभी लोटरीका लागि भिसा फर्म भरेर अन्तरवार्तामात्र कुरेकाहरुको भिसा शुल्क के हुने भन्नेबारे केही बताइएको छैन ।

सन् २०२० मा ३ हजार ६९६ जना नेपालीलाई डीभी लोटरी परेकोमा १ हजार ६९ जनाले भने भिसा प्राप्त गरिसकेका थिए । सन् २०२१ को डीभीका लागि छनौट भएकाहरुले पनि आउदो जनवरीअघि भिसा नपाउने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय