काठमाडौं। छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमण हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

गत २४ घण्टाभित्र (जुलाई ९) भारतमा २५ हजार ७९० जना कोरोना संक्रमित थपिएका छन्, जुन आजसम्म एकै दिन थपिएका संक्रमितको सबैभन्दा ठूलो संख्या हो। अघिल्लो दिन (जुलाई ८) भारतमा २५ हजार ४७१ जना नयाँ संक्रमित थपिएका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यससँगै भारतमा हालसम्म कूल संक्रमितको संख्या सात लाख ९४ हजार ८४२ पुगेको छ। कोरोना संक्रमितमध्ये ९६ प्रतिशत अर्थात् चार लाख ९५ हजार ९६० जना उपचारपछि निको भई घर फर्किसकेका छन्।

कोरोना संक्रमणबाट २१ हजार ६२३ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा ४७९ जना संक्रमितले ज्यान गुमाएका थिए।

भारत कोरोना संक्रमितको संख्या धेरै हुने मुलुकहरूको सूचीमा तेस्रो स्थानमा छ। उक्त सूचीमा भारतभन्दा अगाडि अमेरिका (पहिलो) र ब्राजिल (दोस्रो) रहेका छन्। भारतले केही दिनअघि मात्र रूसलाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको थियो।