नेदरल्यान्ड्सको एक सैन्य हेलिकप्टर क्यारिबीयन सागरमा रहेको अरुबा टापुमा दुर्घटनाग्रस्त भएको त्यहाँको रक्षा मन्त्रालयले सोमवार जनाएको छ ।
एनएच९० हेलिकप्टरले तटीय क्षेत्रमा गश्ती गरिरहेको बेलामा आइतवार अपराह्न दुर्घटनामा परेको थियो । दुर्घटनाको कारणका बारेमा अनुसन्धान चलिरहेको मन्त्रालयले जनायो ।
लेफ्टिनेन्ट क्रिस्टिन मार्टेन्स र लेफ्टिनेन्ट अर्विन वार्नीजको मृत्यु भएको छ भने हेलिकप्टरमा सवार अन्य दुई व्यक्ति बाँच्न सफल भएको रक्षा प्रमुख लेफ्टिनेन्ट एडमिरल रब बावरले बताए ।
उक्त हेलिकप्टर जलसेना गश्ती जहाज ग्रोएनिनगेनमा बस्ने गर्थ्यो । जहाजले भग्नावशेष र हेलिकप्टरको ब्ल्याक बक्सलाई सुरक्षित राख्नका लागि काम गरिरहेको बावरले बताए ।
नेदरल्यान्ड्स सेनाका अन्य हेलिकप्टरहरूलाई अनुसन्धान पूरा नहुन्जेल उडानमा रोक लगाइएको बावरको भनाइ छ ।



