एउटा भनाइ छ, ‘सबै कुरा हेराइको खेल हो, कसैले धेरै कुरा देख्छ, कसैले केही देख्न सक्दैन ।’ तर, बिरलै यस्तो नजर पाइन्छ जसले कसैलाई हेरेर उसको शरीरभित्रको बिमारीलाई पहिचान गर्न सकोस् । अझ टिभीमा हेरेको मान्छेको बारेमा त्यस्तो कुरा पत्ता लगाउने त निकै कम होलान् । त्यसलाई त चमात्कार नै मान्नुपर्छ ।
तर, अमेरिकी टिभी त्यानल डब्लूएफएलएमा कार्यरत भिक्टोरिया प्राइसको हकमा भने यही चमत्कार भएको छ । उनको एक दर्शकले टिभीमा हेरेकै भरमा उनमा रहेको रोगलाई पहिचान गरेर डाक्टरलाई देखाउन सल्लाह दिएका थिए ।
भिक्टोरियाले बिहीबार सामाजिक सञ्जालमा यसबारे जानकारी दिँदै लेखेकी छिन्, ‘एक दर्शकले मलाई अघिल्लो महिना इमेल गरेका थिए । उनले मेरो घाँटीमा एउटा गाँठो देखेका रहेछन् । उनले त्यो गाँठो आफ्नोमा भएको गाँठो जस्तो भएको बताएका थिए । पछि त्यो गाँठो क्यान्सर भएको पत्ता लागेको उनको भनाइ थियो । नभन्दै मेरो गाँठो पनि क्यान्सरको गाँठो रहेछ ।’ उनले अब त्यसको उपचार शुरु गर्न लागेको पनि जानकारी दिइन् ।
ती दर्शकले इमेलमा लेखेका थिए , ‘हेलो, मैले भर्खरै तपाईंको न्यूज रिपोर्ट देखेँ । मलाई तपाईंको घाँटीमा देखिएको गाँठोको चिन्ता भइरहेको छ । प्लीज तपाईंको थायराइड जाँच गर्नुहोला । यो देखेर मलाई मेरो घाँटीमा भएको गाँठोको याद आयो । त्यो गाँठो क्यान्सरको थियो । सर्तक रहनुहोला ।’
Not trying to be difficult but I'm sure I'm not the only one – I don't really see a lump in the picture you shared. Would be good if you can share any additional info on what to look for.
— James (@JamesG3209) July 24, 2020
भिक्टोरियाले ट्वीटसँगै आफ्नो फोटो पनि शेयर गरेकी छिन् । जसमा एक फलोअरले त्यसमा कुनै गाँठो नदेखिएको बताएका छन् । जसमा भिक्टोरियाले प्रष्ट पार्दै लेखेकी छिन्, ‘म सहमत छु, यो यति सजिलै देखिँदैन । त्यसलाई ध्यान दिएर नहेरेसम्म देख्न सकिँदैन । डाक्टरहरुले यो ट्युमर मेरो थायराइडको बीचमा रहेको छ र यसले मेरो ग्ल्यान्डसलाई अगाडि र माथि धकेली रहेको छ । जसले गर्दा यो अलि बाहिर निस्करहेको देख्न सकिन्छ ।’
भिक्टोरियाले इन्सटाग्राममा पोष्ट गर्दै ती दर्शकलाई धन्यवाद दिएकी छन् ।



