अघिल्लो महिना संयुक्त राष्ट्रसंघको गाडीभित्र यौनकर्म गर्ने कर्मचारीहरूलाई निलम्बन गरिएको छ । आन्तरिक अनुसन्धानमा यूएन ट्रुस सुपरभिजन अर्गनाइजेसनका कर्मचारीहरूले उक्त क्रियाकलाप गरेको पाइएको छ । यौनकर्ममा लिप्त दुई कर्मचारीलाई निलम्बन गर्नुका अतिरिक्त गाडीमा रहेका तेस्रा कर्मचारीलाई बेतलबी बिदामा पठाइएको छ ।
‘इजरायलको तेल अभिभमा राष्ट्रसंघको आधिकारिक वाहनमा रहेको तेस्रा पुरुष कर्मचारी पनि अश्लील गतिविधिमा सक्रिय रहेको पाइएको छ,’ ट्रुस सुपरभिजन अर्गनाइजेसनले सानो बयान जारी गरेर बतायो । ती कर्मचारीलाई बेतलबी बिदामा पठाइएको जानकारी पनि उसले दिएको छ । राष्ट्रसंघभित्रको स्वतन्त्र निगरानी निकाय अफिस अफ इन्टर्नल ओभरसाइट सर्भिसेजले घटनाको अनुसन्धान गरिरहेको छ ।
टाढाबाट खिचिएको एक भिडियोमा रातो वस्त्र लगाएकी एक महिलाले पुरुष कर्मचारीको काखमा बसेको र उनीहरू राष्ट्रसंघको लोगो भएको गाडीको पछिल्तिरको सीटमा रहेको देखिन्छ । अगाडिको अर्को सीटमा अर्का पुरुष सुतिरहेका देखिन्छन् । चालक चाहिँ भिडियोमा देखिँदैनन् ।



