अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले नोभेम्बर ३ मा हुने राष्ट्रपति निर्वाचन स्थगन गरेर अर्को मितिमा सम्पन्न गर्न सकिने बताएका छन् । तर अमेरिकी संविधानले त्यो शक्ति संसद्लाई दिएको छ । संविधानको धारा २ ले कंग्रेसलाई राष्ट्रपति निर्वाचनको मिति निर्धारण गर्ने अधिकार दिएको छ ।
सन् १८४५ देखि नोभेम्बरको पहिलो मंगलवार निर्वाचन गर्ने मिति निर्धारण गरिएको हो । यसपालि त्यो नोभेम्बर ३ मा परेको छ । ट्रम्पले कोरोनाभाइरसका कारण आपतकाल घोषणा गरेको भए पनि उनलाई निर्वाचनको मिति सार्ने अनुमति संविधानले नदिएको कानूनविद्हरूले बताए ।
‘राष्ट्रपति ट्रम्पलाई निर्वाचनमा ढिलाइ गर्ने कानूनी अधिकार छैन,’ जोशुआ डगलसले बताए । उनी केन्टकी विश्वविद्यालयका प्राध्यापक तथा निर्वाचन कानूनविज्ञ हुन् । सन् १८४५ देखि युद्ध र महाव्याधिका बीचमा पनि निर्धारित मितिमै राष्ट्रपति निर्वाचन हुने गरेका छन्, उनले भने ।
कंग्रेसले प्राविधिक रूपमा निर्वाचन स्थगन गर्न सक्छ, सन् २००४ मा प्रकाशन गरिएको कंग्रेसनल रिसर्च सर्भिस प्रतिवेदनले जनाएको छ । तर तल्लो सदनमा विपक्षी डेमोक्रेटहरूको नियन्त्रण रहेकाले कंग्रेसले कुनै पनि प्रकारको स्थगनलाई मान्यता नदिने लगभग निश्चित छ ।



