नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई अझै माथिल्लो स्तरमा सुदृढ गर्नुपर्ने बताएका छन् ।

शनिवार तुलसीलाल अमात्यको स्मृति दिवसका अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आम कार्यकर्ता र जनताको चाहना नेकपा विभाजन नहोस् भन्ने रहेकाले जनताको चाहनालाई कदर गर्न एकतालाई उच्चस्तरमा सुदृढ गर्नुपर्ने बताए ।

पार्टीमा बहस र विवाद हुनु सामान्य कुरा भएको बताउँदै प्रचण्डले विचार, मान्यता, विधि र पद्धति कस्तो हुने भन्ने बहस नेकपाभित्र भएको र त्यसलाई प्रतिक्रियावादीहरूले पद प्राप्तिको झिनाझम्टी भन्ने गरेकाले नपत्याउन आग्रह गरे ।

‘पदका लागि होइन, राष्ट्र र जनताको सेवा नै मुख्य हो । पद हाम्रो विषय होइन । राष्ट्र र जनताको भविष्य सुनिश्चित गर्ने र विकास गर्ने जिम्मेवारीमा हामी छौं,’ उनले भने ।

उनले कम्युनिस्ट पार्टी विचार र पद्धतिमा चल्ने भएकाले बहस हुने कुरा स्वाभाविक भएको बताए । अध्यक्ष प्रचण्डले राजनीतिक अस्थिरता र एकताका निम्ति पद त्याग गर्दै आएको समेत स्मरण गर्दै भने, ‘मैले संविधान बनाउने बेलामा पनि, स्थानीय तहको निर्वाचन गर्ने बेलामा पनि र गठबन्धन गर्ने बेलामा पनि पद हाम्रो विषय होइन, राष्ट्र र जनताको भविष्य स्थापित गर्ने ऐतिहासिक जिम्मेवारी हो भनेर स्पष्ट पारेका थियौं ।’

अहिलेको बहसले पार्टी फुटाउने प्रवृत्ति परास्त हुने दाबी गर्दै अध्यक्ष प्रचण्डले अहिले भइरहेको बहसलाई छोपछाप गर्न नहुने उनको भनाइ थियो । उनले भने, ‘अहिलेको बहस तिखो भइरहेको छ । हामीभित्रको तिखो बहस चलिरहेको छ, चिल्ला शब्द छैनन् । इतिहासको अनुभवबाट शिक्षा लिएर पार्टी एकता कायम गर्नुको विकल्प छैन । पार्टी फुटाउने प्रवृत्तिलाई परास्त हुन्छ, गरिनेछ । बहसले माथिल्लो स्तरमा लगेर पार्टीलाई सुदृढ गर्छ ।’ लोकंतर बाट साभार गरिएको 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय