सार्स–कोभ–२ अर्थात् नयाँ कोरोनाभाइरसले शरीरको कोशिकामा रहेको एसीई२ नामक प्रोटीनमा आफ्नो खतरनाक चुच्चाहरू टाँसेर आक्रमण गर्छ । भाइरसको उक्त प्रक्रियालाई कसरी रोकेर संक्रमण हुन नदिने भनी वैज्ञानिकहरूका सामु चुनौती छ ।

संक्रमण रोक्ने उपाय पत्ता लागेको अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धाताहरू बताउँछन् । उँट प्रजातिका जनावरको शरीरमा प्राकृतिक रूपमा उत्पन्न हुने एन्टीबडीबाट प्रभावित भएर अनुसन्धाताहरूले भाइरसको चुच्चोलाई ध्वस्त पार्ने न्यानोबडी बनाएको बताइएको छ ।

‘मानिसको रोगप्रतिरोधक प्रणालीमा पाइने एन्टीबडी जस्तै तिनले काम गर्ने भए पनि न्यानोबडीले सार्स–कोभ–२ विरुद्धको उपचारमा अद्वितीय लाभ दिने गरेको छ,’ फार्मास्युटिकल केमिस्ट्रीका सहायक प्राध्यापक आशिष मांगलिकले बताए ।

अघिल्लो साता सोमवार प्रकाशित गरिएको पेपरमा न्यानोबडीका सिन्थेटिक मोलिक्युलहरूले भाइरसलाई कोशिकामा प्रवेश गरेर वृद्धि हुन नदिन अवरोध खडा गर्ने उल्लेख छ ।

यी न्यानोबडीहरू मानव एन्टीबडीभन्दा निकै साना हुन्छन् र तिनलाई परिवर्तन गर्न झन् सहज छ । प्रयोगशालामा परीक्षण गर्दा यस कम्पाउन्डले कोरोनाभाइरसका स्पाइक प्रोटीनहरूलाई थुनेर निष्क्रिय बनाएको पाइयो ।

सिन्थेटिक न्यानोबडीको एक ठूलो फाइदा भनेको यो स्थिर भएकाले यसलाई सुक्खा पाउडर बनाउन मिल्छ र नाकले सुँघ्न सहज हुने गरी स्प्रे बनाउन मिल्छ । वैज्ञानिकहरूले यसलाई एरोन्याब नाम दिएका छन् ।

एरोन्याब सस्तो औषधि हुने र यसले कोभिड–१९ लाई उपचार र रोकथाम गर्न सहायता गर्ने वैज्ञानिकहरूको कथन छ । कोभिड–१९ खोपले असर नगरेकाहरूलाई पनि यसले सुरक्षा दिने उनीहरू बताउँछन् ।

एसएफगेटबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय