कोरोनाभाइरसविरुद्ध संसारले सामूहिक रोगप्रतिरोधक क्षमता अर्थात् ‘हर्ड इम्युनिटी’ प्राप्त गर्न अझै नसकेको भनी विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ ।
संगठनको हेल्थ इमर्जेन्सिज प्रोग्रामका अध्यक्ष डा माइकल रायनले मानिसहरूलाई हर्ड इम्युनिटी बनेमा कोभिडलाई जित्न सकिने भनी भ्रम नपाल्न आग्रह गरे ।
हर्ड इम्युनिटी प्राप्त गर्नका लागि ७० प्रतिशत जनसंख्यामा भाइरस संक्रमण भएर त्यसबाट निको भएको हुनुपर्ने विज्ञहरू बताउँछन् । त्यो भनेको जनसंख्याको ठूलो भागलाई संक्रमण लागेर भाइरस फैलिने ठाउँ नै सकिनु हो ।
अलिक आशावादी विज्ञहरूले जनसंख्याको ४० प्रतिशत मानिसमा कोभिड–१९ विरुद्ध एन्टीबडी निर्माण भएमा सामुदायिक सुरक्षा उपलब्ध हुने अनुमान गरेका छन् । तर कोरोनाको बढी असर परेका बेलायत लगायतका मुलुकमा १० देखि २० प्रतिशत मानिससँग मात्र रोगविरुद्ध लड्ने प्रोटीन बनेको विभिन्न अध्ययनहरूले देखाएका छन् ।
मंगलवार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा डा रायनले हर्ड इम्युनिटीको विवादास्पद रणनीतिलाई खारेज गरेका हुन् ।
उनले भने, ‘विश्व जनसंख्यालाई हेर्दा हामी रोग सर्नबाट रोक्नका लागि आवश्यक इम्युनिटी हासिल गर्ने स्तरबाट धेरै टाढा छौं ।’



