प्रतिस्पर्धामा पछि परेकाले पश्चिमी मुलुकहरूले रुसमा कोरोनाभाइरसविरुद्ध बनेको स्पुतनिक भी खोपको आलोचना गरेको एक रुसी वैज्ञानिकले बताएका छन् ।
रुसको एकेडमी अफ सायन्सेजका उपाध्यक्ष भ्लादिमिर चेखोनिनले यो परिस्थिति लामो समयसम्म नरहने बताए । ‘चीनमा पनि खोप दर्ता हुँदैछ । दुई वा तीन हप्तामा दर्ता हुन्छ जस्तो लाग्छ,’ उनले पूर्वानुमान गरे ।
अनि वर्षको अन्त्यसम्म अमेरिकामा पनि खोप दर्ता हुने उनले बताए ।
‘विदेशी सहकर्मीहरू रुसी खोपका विषयमा अलि बढी नै आलोचनात्मक भएका छन् किनकि उनीहरू पछि परेको कुरा बुझ्छन्,’ उनले तास समाचार संस्थालाई बताए ।
मस्कोमा रहेको गामालेया नेसनल रिसर्च सेन्टरले कोरोनाभाइरसविरुद्ध बनाएको स्पुतनिक भी खोप संसारमै पहिलोपटक दर्ता भएको औषधि हो ।
‘म राजनीतिमा पर्न चाहन्नँ, त्यो मेरो क्षेत्र हैन,’ चेखोनिनले भने । ‘तर वैज्ञानिक पक्षको कुरा गर्नुपर्दा हाम्रो खोप हावा तालमा बनेको हैन । गामालेयामा विज्ञहरूको बलियो समूह छ । उनीहरूसँग बायोइन्जिनीयरिङ र जिन इन्जिनीयरिङको विशाल अनुभव छ । उनीहरूले एडेनोभाइरल अवयवहरूको आधारमा विभिन्न संरचना विकसित गर्ने अनुभव बटुलेका छन् । उनीहरूसँग बायोटेक्नोलोजीको पनि लामो अनुभव छ । उनीहरूसँग सानै भए पनि आफ्नै उत्पादन केन्द्र छ । खोप बनाउनका लागि आवश्यक सबै तत्त्वहरू उनीहरूसँग छ ।’
रुसले खोपका लागि विभिन्न प्ल्याटफर्महरू विकसित गरिरहेकोले नै हामी यस क्षेत्रमा बलिया छौं र हाम्रो सम्भाव्यता पनि बलियो छ भन्ने देखाउँछ, चेखोनिनले थपे ।



