काठमाण्डाै – अमेरिकाले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओको) अगुवाइमा हुन लागेको कोरोनाविरुद्धको खोपको खोजी, उत्पादन र वितरणको विश्वव्यापी प्रयासमा सहभागी नहुने जनाएको छ ।
कोरोना भाइरसविरुद्धको खोपको विश्वव्यापी पहुँच स्थापित गर्ने अभियानमा अहिले डब्ल्यूएचओको नेतृत्वमा एक सय ७० भन्दा धेरै देशले प्रयास थालिरहेका छन् । तर यो अभियानमा अमेरिकाले आफू सहभागी नहुने जनाएको हो ।
वाशिङटन पाेस्ट अखबारका अनुसार सुरक्षित र प्रभावकारी खाेपकाे मञ्जुरी पाइसकेपछि र त्यसकाे इजाजत पत्र पाइसकेपछि सबै मानिससम्म खाेपकाे न्यायसङ्गत पहुँच सुनिश्चित गराउने डब्ल्यूएचओकाे नेतृत्वमा अमेरिका सहभागी नहुने भएकाे हाे ।
ट्रम्प प्रशासनका केही सदस्यहरुको रुचि भए पनि ह्वाइट हाउसले डब्ल्यूएचओसँग काम गर्न इच्छुक नभएको बताएको बीबीसीले जनाएको छ ।
ह्वाइट हाउसका प्रवक्ता जड डीरेले एक विज्ञप्ति निकाल्दै भन्नुभएकाे छ, ‘अमेरिका भाइरसकाे हार सुनिश्चित गर्नकाे लागि आफ्नाे अन्तर्राष्ट्रिय सहयोगीसँग मिलेर काम गरिरहनेछ तर भ्रष्ट विश्व स्वास्थ्य सङ्गठन र चीनबाट प्रभावित मल्टिलेटरल संस्थाकाे दबाबमा आउने छैन ।’
राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको ‘कठपुतली’ बनेको भन्दै डब्ल्यूएचओको आलोचना गर्दै आउनुभएको छ । उहाँले महामारी नियन्त्रणमा डब्ल्यूएचओ चीन केन्द्रित भएको पनि आरोप लगाउनुभएको छ ।



