अर्थ मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि नेपालीलाई भोकै बस्न नदिन सरकार लागिपरेको बताएका छन्।
आइतबार निजी क्षेत्रका नेतृत्वकर्तासँग सुझाव र परामर्शका लागि आयोजना गरेको छलफलमा प्रम ओलीले स्थानीय प्रशासन, प्रहरी र स्थानीय तह समक्ष वास्तविक समस्या राख्न समेत आग्रह गरे।
प्रधानमन्त्री ओलीले उद्योग व्यवसायलाई समस्यामा पर्न नदिन सरकार दृढ रहेको बताए। केवल कर असुलीमा मात्र ध्यान नदिइएको उनको भनाइ छ।
‘काम गरेर खान नेपालमा समस्या नरहेको स्थिति पनि उनले उल्लेख गरेका थिए। ‘श्रम गर्न विदेश जाने कुरामा अब खासै आकर्षण छैन,’ ओलीले भने, ‘युवाहरू यो अवस्था बुझेर देशभित्र क्रियाशील हुनुपर्छ।’
कोरोनाको विषयमा मनोवैज्ञानिक आतंक नफैलाउन र नागरिकको मनोबल बढाउनुपर्नेमा उनको जोड छ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस मोर, नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्मा र नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको सहभागिता थियो।
उद्योगी व्यवसायीले निषेधाज्ञा खुकुलो पारेर अर्थतन्त्रलाई चलायमान गर्न र कोरोनालाई हौवाको विषय नबनाउन अनुरोध गरेका थिए।
पूर्व अर्थमन्त्री डा युवराज खतिवडा, नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले निजी क्षेत्रका सरोकार, अपेक्षा र प्राप्त सुझावहरूमा सरकारले यसबेला चालेका विभिन्न कदम, गरेको अध्ययन र सम्बोधनका बारेमा जानकारी गराएका थिए। लोकान्तर बाट साभार



