राजदूतको अकाउन्टबाट पोर्नोग्राफिक भिडियो क्लिप लाइक भएपछि बेलायतस्थित चिनियाँ राजदूतावासले ट्वीटरलाई ‘विस्तृत छानबिन’ गर्न माग गरेको छ । राजदूत लिउ जियाओमिङको अकाउन्टबाट चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) को आलोचना गरेको एउटा पोष्ट पनि लाइक भएको छ ।
जनतालाई भ्रमित पार्न ‘चीनबिरोधी तत्त्व’हरुले लिउको अकाउन्टमाथि क्रुर अक्रमण गरेको चिनियाँ अधिकारीहरुले दाबी गरेका छन् । यस विषयमा ट्वीटरले कुनै प्रतिक्रिया जनाएको छैन ।
एक वयस्क सामग्री पोष्ट गर्ने पेजमा चिनियाँ भाषामा लेखिएको विवरणसहितको १० सेकेन्डको क्लिपमा राजदूतको ट्वीटरबाट लाइक गरिएपछि यसबारे चर्चा सुरु भएको थियो । लण्डनमा रहेको मानवअधिकारवादी अभियानकर्ताले ट्वीटरलाई यसबारे जानकारी दिँदै स्क्रीनसट सेयर गरेको थियो ।
त्यसपछि उनको ट्वीटरबाट उक्त भिडियो अनलाइक भएको थियो । तर, अन्य विवादीत ट्वीट भने केही समय अझै त्यतिकै रहेको थियो । पछि त्यसलाई पनि हटाइएको थियो ।
मेनल्याण्ड चीनमा ट्वीटर ब्लक गरिएको छ । तर, पछिल्लो केही वर्षयता चिनियाँ अधिकारीहरुले यसलाई प्रयोग गर्न सुरु गरेका छन् । लिउको अकाउन्ट गत अक्टोबरमा सुरु गरिएको थियो ।
केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले लिउको अकाउन्टबाट झुक्केर लाइक बटन थिचिएको हुनसक्ने आशंका छन् । तर, चिनियाँ अधिकारीहरुले यसलाई अस्वीकार गर्दै यस विषयबारे ट्वीटरलाई जानकारी गराइएको र छानविनको माग गरिएको एक वक्तव्य मार्फत जानकारी दिएका छन् ।




