काठमाण्डाै – अमेरिकाले एक हजारभन्दा धेरै चिनियाँ विद्यार्थी र अनुसन्धानकर्ताको भिसा रद्द गरेको छ । सुरक्षा जोखिमका कारण एक हजार चिनियाँ विद्यार्थी र अनुसन्धानकर्ताको भिसा रद्द गरेको अमेरिकी विदेश मन्त्रालयलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
ट्रम्प प्रशासनले बौद्धिक सम्पत्ति, प्रविधि र अरु संवेदनशील सूचनामा शङ्का देखिएको भन्दै उनीहरुको भिसा रद्द गरेको जनाएको छ । यसबारे चीनले केही प्रतिक्रिया दिएको छैन ।
सन् २०१८ देखि २०१९ मा झण्डै तीन लाख ७० हजार चिनियाँ विद्यार्थीले अमेरिकाको विश्वविद्यालयमा अनुमति पाएका थिए । चिनियाँ सेनासँग निकट सम्बन्ध रहेका विद्यार्थी र अनुसन्धानकर्तालाई अमेरिका प्रवेशमा कडाइ गर्ने गरी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको जुन १ तारिखमा एउटा आदेशमा हस्ताक्षर गर्नुभएको थियो ।
अमेरिकाकाे एक राज्य विभागकी प्रवक्ताले भिसा रद्द गरिएका विद्यार्थीलाई ‘उच्च जाेखिमयुक्त स्नातक विद्यार्थी र अनुसन्धन विज्ञहरु’ भनेर वर्णन गर्नुभएकाे छ । उहाँले भिसा रद्द गरिएकाहरु चिनियाँ विद्यार्थीहरुकाे कुल सङ्ख्याकाे ‘सानाे उपसमूह’ भएकाे बताउनुभएकाे छ ।



