एजेन्सी । पछिल्लो समय एउटा रिपोर्टले सञ्चारमाध्यममा निकै चर्चा पायो । त्यो रिपोर्ट थियो- ‘गत जनवरीमा भएको आफ्ना कमाण्डर जनरल सुलेमानीको हत्याको बदला अमेरिकासँग लिनेगरी ईरानले योजना बनाइरहेको छ ।’ यस रिपोर्टपछि ट्रम्पले ट्वीटरमार्फत ईरानलाई धम्की दिएका छन् ।

उनले लेखेका छन्– ‘मिडिया रिपोर्टस्काअनुसार ईरानले आतंकवादी नेता सुलेमानीको हत्याको बदला लिन अमेरिकाविरुद्ध हत्या वा अन्य आक्रमणको योजना बनाइरहेको छ । यो योजना भविष्यको आक्रमण, अमेरिकी सेनाको हत्या र यातनासँग सम्बन्धित छ । ईरानले कुनै पनि ढंगले अमेरिकाविरुद्ध कुनै आक्रमण गर्यो भने ईरानविरुद्ध १ हजार गुणा बढी म्याग्नेच्युडको आक्रमण हुनेछ ।’

आइतबार सुलेमानीको हत्याको बदला लिन ईरानले दक्षिण अफ्रिकाका लागि अमेरिकी राजदूतको हत्या गर्ने योजना बनाइरहेको समाचार पोलिटिको डटकममा छापिएको थियो । सोमबार ईरानी विदेश मन्त्रालयका प्रवक्ता सइद खातिबजादेहले यस्तो आरोपको खण्डन गरेका थिए । उनले अमेरिकाले अन्तर्राष्ट्रिय समुदायमा ईरानविरोधी प्रोपोगान्डा फैलाउन बन्द गर्नुपर्ने बताएका थिए । उनले यस दाबी ईरानविरुद्धको ट्रम्प प्रशासनको काउन्टर–इन्टेलिजेन्स अभियानको हिस्सा रहेको बताएका थिए । ‘यो दाबी एकपक्षीय, सुनियोजित र बनावटी हो’ उनले भनेका थिए ।

जनवरी ४ मा बग्दादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी सेनाको ड्रोन आक्रमणमा ईरानी क्वाद सेनाका जनरल सुलेमानी मारिएका थिए । सुलेमानीले अमेरिकी सेनामाथि ठूलो आक्रमण गर्ने योजना बनाइरहेका कारण धेरैभन्दा धेरै मानिसको ज्यान जोगाउन उनको हत्या गर्नुपरेको वासिङ्गटनको दाबी थियो । तर सुलेमानीले बनाएको भनिएको हत्या योजनाबारे प्रमाण उपलब्ध गराउन वासिङ्गटन असफल हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय