तरहरा संवाददाता/ इटहरी उपमहानगरपालिका वडा नंम्वर २०, तरहराकी समाजसेवी सन्त कुमारी राईले आफ्नो स्वर्गिय श्रीमान् टंकराज राईको स्मृतिमा इटहरी उपमहानगरपालिका वडा नंम्वर २ मा रहेको माया घरमा झण्डै एक लाख रूपैयाँको सहयोग प्रदान गरेकी छिन् । माया घरमा पिउने पानीको बोरिङ जडान र त्यसको अौपचारिक हस्तान्तरण कार्यक्रममा माया घरमा खाना खुवाउने र खाद्यान्न वितरणमा उनले यो रकम खर्च गरेकी हुन् ।
भूतपूर्व बिट्रिस गोर्खा सैनिक रहेका राईको उपचारको क्रममा निधन भएको थियो । ओखलढुंगा पुर्खौंली भएको राईको स्थायी ठेगाना चै साबिकको हाँसपोसा गाविस, वडा नंम्वर २, हालको इटहरी उपमहानगरपालिका वडा नंम्वर २० हो । उनी भूपू सैनिक क्लब, किराँत राई यायोक्खा लगायत विभिन्न सामाजिक तथा जातीय संघसंस्थामा आवद्ध थिए । तरहरामा उनी सफल व्यवसायीको रूपमा पनि परिचित छन् । लामो समय बिट्रिस सेनामा समय बिताएपछि "रिटायर्ड" जीवनमा उनी बेलायत (युके) जान मिल्ने भए पनि कृषि, मत्स्य पालनमा रूचि राखेर उनी आफ्नै फार्मको पोखरीमा मत्स्य पालनमा पनि रमाए । उनकी एक्ली छोरी विमला राई युकेमा छिन् ।
गरिव, दुखी, पीडित र असहायलाई आर्थिक सहयोग गर्न रूचाउने राईले हाँसपोसा, तरहरा र यहाँका मठमन्दिर, सरकारी विद्यालय लगायको विस्तार, विकास र सम्बृद्विमा पनि योगदान पुराएका छन् । उनले आफ्नो जन्मोथलो ओखलढुंगामा समेत विभिन्न आर्थिक तथा भौतिक सहयोग गरेका छन् ।
उनका छोरा स्थानीय समाजसेवी युवा तथा हाल तरहरा साइक्लिङ ग्रुपलाई संयोजन गरिरहेका शिब रुम्दाली राई उर्फ शिबुले दिएको जानकारी अनुसार, आफ्नो बुवाको स्मृतिमा पुण्य काम गर्ने इच्छा भएकोले माया घरमा पिउने पानीको बोरिङ जडान गरिदिएका हुन् । त्यसको अौपचारिक हस्तान्तरण कार्यक्रममा माया घरलाई खाना खुवाउने कार्यक्रम र खाद्यान्न सहयोग समेत भएको थियो ।
"हाम्रो परिवारले बाबाको (स्वर्गीय बुवा टंकराज राई) सम्झनामा पानीको बोरिङ बनाईदिएका हौं ।", रूम्दालीले गोर्खा खबरको मोबाइल सम्पर्कमा भने, "सम्पूर्ण खर्च हाम्रो परिवारले गरेको भए पनि म आवद्व भएकोले हस्तान्तरण कार्यक्रममा लायन्स क्लब र महादेव ग्रुपले त्यसअघि सहयोग गरेकोले हाम्रो परिवार उहाँहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छौं ।"
माया घरकी अध्यक्ष राधीका दासीले प्रसन्नताका साथ राई परिवारलाई सहयोग गरेर पुण्य कार्य गरेकामा प्रशंसा गरे ।










