काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमणबाट ६३ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्र भारतमा ८६ हजार आठ सय २१ जनामा संक्रमण पुष्टि भएको हो ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा एक हजार एक सय ८१ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या ९८ हजार ६ सय ७८ पुगेको छ ।
भारतमा हालसम्म ५२ लाख ७३ हजार व्यक्ति निको भएका छन् भने नौ लाख ४० हजार मानिस सक्रिय संक्रमित अवस्थामा छन् । सर्वाधिक प्रभावित महाराष्ट्रमा दुई लाख ५९ हजार व्यक्ति सक्रिय संक्रमित रहेका छन् भने ३६ हजार ६ सय ६२ जनाको ज्यान गएको छ ।
यस्तै कर्नाटकमा एक लाख सात हजारभन्दा बढी व्यक्ति सक्रिय संक्रमित अवस्थामा रहेका र आठ हजार आठ सय ६४ जनाको मृत्यु भएको छ ।भारतीय स्वास्थ्य अनुसन्धान परिषदले हालसम्म सात करोड ५६ लाख नमुना परीक्षण गरेको जनाएको छ ।



