काठमाडौं। आर. टि. आइ. एड इन्टरनेशनल नेपालका अध्यक्ष जीवन थापाको समन्वय र राष्ट्रीय सूचना आयोगको सहजीकरणमा “सकरात्मक सोच र तनाव व्यवस्थापन” र सुचनाको हक सम्बन्धी विषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कोरोना भाइरसले सिर्जित विषम परिस्थितिलाई मध्यनजर गर्दै सो प्रशिक्षणात्मक कार्यक्रम भर्चुअल्ड माध्यमबाट गरिएको हो।
कार्यक्रममा बोल्दै अध्यक्ष थापाले सार्वजनिक सरोकारका विषयमा सुचना लिने र दिने बानीको विकासले सुशासन, सदाचार र जवाफदेहितामा महत्व राख्ने भएकोले त्यसप्रती सबै नागरिक सचेत रहन आवश्यक भएको र त्यसलाई बढवा दिन आर. टि . आइ एड इन्टरनेशनल नेपालले सुचनाको हक अभियान अघि बढाइरहेको प्रष्ट्याए। विषम परिस्थितिको कारण कार्यक्रम भर्चुअल्ड माध्यमबाट गरिएको पनि उनले स्पस्ट पारे।
उक्त कार्यक्रममा प्रमूख अतिथी र प्रमुख वक्ताका रुपमा उपस्थित हुँदै राष्ट्रीय सूचना आयोगका पूर्व प्रमुख सुचना आयुक्त कृष्णहरी बाँस्कोटाले सकरात्मक सोचको विकास कसरी गर्ने, जीवनमा आइपर्ने तनावहरुको व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा स्लाइट देखाउँदै प्रशिक्षणार्थीहरुलाई प्रशिक्षण गराए। साथै सूचनाको हक सम्बन्धमा पनि सुचना लिन वा दिन कसरी सकिन्छ? संविधानमा के व्यवस्था छ ? भन्ने बारे पनि उनले प्रष्ट्याए ।
उनले भने, “सार्वजनिक सरोकारको विषयमा सुचना लिन पाउनु प्रत्येक नागरिकको कर्तव्य र अधिकार हो। यदि कुनै सार्वजनिक निकायले सुचना दिन नमाने हामीलाई भन्नुस्, हामी साथमा छौं।” उनले सूचनाको हक अभियन्तालाई इङ्गित गर्दै भने, “त्यसैले तपाईहरु जागरुक हुनुस् र सुचना माग्ने संस्कारमा लाग्नुस्, हामीले सरकारलाई खबरदारी नगरे कसले गर्छ। यो संविधानत: प्रत्येक नागरिकको मौलिक हक हो। भ्रष्टाचारमुक्त समुन्नत देश निर्माणको लागि अब हामी जाग्नुपर्छ।”
प्रशिक्षणपश्चात् प्रशिक्षार्थीहरुले सार्वजनिक निकायले संविधानमा उल्लेख गोपनियताको हकको आडमा सूचना लुकाउने गरेको गुनासो पोखेका थिए। त्यसमा उनले भने, कारण वा विषय खुलाएर सुचना माग्नुस्, जसले पनि सूचना दिनुपर्छ, यदि कसैले अटेर गर्छ भने तुरुन्त राष्ट्रिय सूचना आयोगलाई खबर गर्नुस्।”
सो प्रशिक्षण कार्यक्रममा आर. टि. आइ. एड इन्टरनेशनल नेपालका अध्यक्ष जीवन थापा, कोषाध्यक्ष एवम् लायन्स क्लब अफ काठमाडौं युनाइटेड फ्रेन्ड्सका अध्यक्ष दिपक थापा, सदस्य तथा लायन्स क्लव अफ काठमाडौ युनाइटेड फ्रेन्ड्सका सर्भिस चेयर पर्सन वेदनाथ ढकाल, ज्ञानेन्द्र कोईराला, देशभक्त थापा, सन्तोष थापा, गणेश उपाध्याय लगायत २५ भन्दा बढी सुचनाको हक अभियन्ताहरु सहभागी थिए।
त्यस्तै, सो प्रशिक्षणात्मक कार्यक्रममा अरुण गाउँपालिकाका सूचना अधिकारी निरज कार्की, वडा नम्बर ७ का वडा अध्यक्ष डिल्ली राम अधिकारी, नेकपा नेता बलभद्र बान्तवा, समाजसेवी कुमार थापा, डाक्टर भोजराज भण्डारी, पत्रकार कुशल कार्की, शिक्षक रत्न सुनुवार लगायतको उल्लेख्य उपस्थिती रहेको थियो।










