अमेरिकाको ट्रम्प प्रशासनले तिब्बत मामिला हेर्नका लागि एक वरिष्ठ अधिकारी नियुक्त गरेको छ । लगभग चार वर्ष उक्त पद खाली थियो । अमेरिकाले चीनलाई मानवअधिकारका विषयमा दबाब बढाउँदै जाँदा यो नयाँ कदम आएको हो ।
अमेरिकाका परराष्ट्रमन्त्री माइक पोम्पेओले बुधवार रोबर्ट डिस्ट्रोलाई तिब्बती मामिलाका लागि विशेष संयोजक नियुक्त गरेका हुन् । डिस्ट्रोलाई बेइजिङ र दलाई लामाबीचको संवाद अघि बढाउन अनि तिब्बतीहरूको धार्मिक, सांस्कृतिक तथा भाषिक पहिचान संरक्षणका लागि जिम्मेवारी दिइएको छ ।
‘चीनले तिब्बती समुदायको दमन गरेको र सार्थक स्वायत्तता नदिएको अनि तिब्बतमा मानवअधिकार परिस्थिति बिग्रँदै गएकोमा अमेरिका चिन्तित छ,’ पोम्पेओले बताए ।
चीनको तिब्बतमाथिको अधिकारका विषय अमेरिका र चीनबीचको सम्बन्धलाई अप्ठ्यारो पारिरहेको छ । तिब्बतको स्वायत्तता तथा निर्वासित नेता दलाई लामालाई समर्थन वाशिङटनमा सबै पक्षले गर्ने गरेका छन् ।
तिब्बतमा पहुँचलाई नियन्त्रण गर्ने काममा लागेका चिनियाँ अधिकारीहरूमाथि अमेरिकाले गत जुलाई महिनामा यात्रा प्रतिबन्ध लगाएको थियो ।



