काठमाण्डाै – दुई अन्तर्राष्ट्रिय प्रेस संस्था, द इन्टरनेशनल प्रेस इन्स्टिच्युट र इन्टरनेशनल फेडरेशन अफ जर्नलिस्ट्सले भारतीय प्रधानमन्त्रीलाई एक संयुक्त पत्र लेख्दै पत्रकारमाथिको उत्पीडन रोक्न तत्काल आवश्यक कदम उठाउन आग्रह गरेका छन् ।

दुवै संस्था सम्पादक, पत्रकार र मिडियामा काम गर्नेहरुको अन्तर्राष्ट्रियस्तरको संस्था हुन्, जसले आफ्नो पत्रमा लेखेका छन्, ‘प्रधानमन्त्री मोदी राज्य सरकारहरुलाई पत्रकारहरुविरुद्धको सबै मुद्दा फिर्ता लिन निर्देशन दिनुस् ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पछिल्लो केही महिनामा पत्रकारहरुले आफ्नो काम गरेको बदलामा आईपीसीको सेक्शन–१२४ए अनुसार राज्यद्रोहको मुद्दा लगाइएको र त्यसलाई फिर्ता लिनुपर्नै पत्रमा लेखिएको छ ।

यस पत्रमा केरलका पत्रकार सिद्दकी कप्पनको गिरफ्तारीमाथि विशेष चिन्ता व्यक्त गरिएको छ, जो हाथरस प्रकरणको रिपोर्टिङ गरिरहेका थिए ।

पत्रकार अनुसार, कोरोना भाइरसको महामारी फैलिएपछि पत्रकारहरुविरुद्ध मुद्दा दर्ताको क्रम भारी रुपमा बढेको छ ।

यस पत्रमा एक रिपोर्टलाई उद्धृत गर्दै भनिएको छ, ‘२५ मार्चदेखि ३१ मेबीच महामारीको समाचार रिपोर्टिङ गर्ने ५५ जना पत्रकारलाई निसाना बनाइएको छ र विभिन्न राज्य सरकारहरुले उनीहरुमाथि मुद्दा दायर गरेका छन् ।’

यी दुई संस्थाले लेखेका छन्, ‘सरकारको प्रतिक्रियामा कमीलाई उजागर गर्नेहरुलाई चुप गराउन उनीहरुमाथि स्वास्थ्य सङ्कटको उपयोग भइरहेको छ । तर स्वतन्त्र मिडिया हुनु लोकतन्त्रमा आवश्यक छ ।’