नमुछे आमा दहीमा टीका, नछरे जमरा

दैवले पर्दा उठायो आमा, आउँदिनँ फर्केर…

कृष्णभक्त राईको आवाजमा हरेक वर्ष दसैंमा बज्ने यो गीत यसपालि नयाँ आवाजमा गुन्जिरहेको छ। नयाँ भर्सनमा गुन्जिने स्वर अहिलेकी चर्चित गायिका रचना रिमालको हो।

लकडाउन सुरू भएयता मात्रै ६० भन्दा बढी गीत रेकर्ड गराएकी उनी अहिलेकी व्यस्त गायिका हुन्। गीत रेकर्डसँगै भिडिओका लागि पनि समय दिनुपर्दा महिनौंदेखि उनले आराम गर्ने फुर्सद पाएकी थिइनन्।

काठमाडौंको व्यस्त दैनिकीकै बीच दसैं आयो। यही बहानामा उनी तीन दिनअघि आफ्नो घर चन्द्रगढी, झापा पुगेकी छन्।

‘धन्न दसैं आयो र आफ्ना लागि थोरै समय पाएकी छु। नत्र त बिरामी हुँदा पनि गीत गाउनु पर्थ्यो,’ उनले टेलिफोन कुराकानीमा भनिन्।

संगीतकार नारायण रायमाझीसँगै गाएको ‘नमुछे आमा दहीमा टीका’ को रेकर्डिङ गर्ने बेला पनि उनलाई ज्वरो आएको थियो। उनी दुई पटक रेकर्डिङका लागि गएर पनि गाउन नसकी फर्किएकी थिइन्।

उनले भनिन्, ‘ध्यान दिएर गीत सुन्नुभयो भने थाहा हुन्छ, यो गीतमा मेरो स्वर भासिएको छ।’

यस्तो पहिलो पटक भने भएको हैन। यसअघि पनि स्वर बसेका बेला उनले धेरै गीत रेकर्ड गराएकी थिइन्। यसको मुख्य कारण उनको व्यस्तता नै हो। भनिन्, ‘एउटा गीत समयमा गाउन नसके अर्को गीतको समय हेरफेर गर्नुपर्ने हुनाले गाह्रो हुँदा पनि काम गर्नुपर्ने हुन्छ।’

तोकेको समयमा गीत गाउन नसक्दा कयौं पटक उनीसँग संगीतकारहरू रिसाएका पनि रहेछन्। उनले भनिन्, ‘बिरामी भइन्छ भनेर पहिल्यै त थाहा हुँदैन नि हैन?’

यो व्यस्तताको बदलामा रचनाले देश-विदेशमा रहेका लाखौं दर्शकस्रोताको माया पाएकी छन्। तर हालै एसइई सकेर कक्षा एघारमा पढ्ने उमेरमा यो हदसम्मको व्यस्तता र कामको दबाब झेल्न उनलाई बेलाबेला सकस पर्छ।

‘ज्वरो आयो, रुघा लाग्यो भन्न पनि नपाइने। कहिलेकाहीँ त आराम गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो,’ उनले भनिन्, ‘त्यस्तो बेला तनाव हुन्थ्यो अनि आमा, दिदीसँग फोनमा दुख पोख्थेँ।’

अहिले गाउँ पुगेर आमा र दिदीसँग समय बिताउन पाउँदा महिनौंको थकान भुलिरहेकी छन् उनी। तीन दिदी बहिनीमध्ये कामना उनकी सबभन्दा प्यारी दिदी हुन्। उनैसँग रचनाले यसपालि गाउँ पुगेर जंगल र सिमसार घुम्न भ्याइसकिन्। दसैंको मौसममा खेतैभरी लहलह धान झुलेको दृश्य उनलाई खास लाग्छ। लिङ्गे पिङमा चचहुई गर्दै मच्चिनु र डायस खेल्नु उनका अघिल्ला दसैंका रमाइला क्षणहरू हुन्।

तर यो वर्ष उनले गाउँमा कतै पिङ देखिनन्। कोरोना महामारीका कारण पहिलाजस्तै मन्दिर वा बजारमा भीडभाड पनि कम देखिरहेकी छन्।

उनले हाँस्दै भनिन्, ‘पिङ खेल्न नपाए पनि ढिलोसम्म सुतेर मजा लिइरहेको छु।’

चिसो नजिकिँदै डाक्ने दसैंको मौसममा खेतबारीमा देखिने शीतको रङले रचनालाई मोहनी लगाउँछ। तर गाउँ पुगेको धेरै केही दिन बित्दा पनि यो शीतको रङ उनको आँखामा परेको छैन।

‘थकाइ यति लागेको रहेछ कि शीतभन्दा निद्रा प्यारो भइरहेछ,’ एकछिनसम्म फोनमा उनको हाँसोको खित्का छुटिरह्यो।

दसैंमा यस पटक आराम गर्ने बाहेक उनको महत्वपूर्ण काम सपिङ गर्नु पनि हो। नबिराई दिनकै चार वटासम्म गीत गाएकी उनले घरका सबैलाई केही किन्न सक्ने गरी कमाएकी छन्। तर आमाले काठमाडौंको आलुचिप्स मात्रै ल्याउनू भनेकाले यहाँ केही किनेकी थिइनन्।

उनले भनिन्, ‘आज र भोलि बजार गएर सबैलाई केही किनेर दिन बिताउने छु।’

आफ्नो लागि भने उनले काठमाडौंमै टन्नै लुगाहरू किनेको बताइन्। आमाले ‘पैसा जोगाऊ, फुर्मास नगर’ भने पनि उनलाई घरका हरेक सदस्यलाई केही किन्दिने मन छ।

‘आफ्नो कमाइ परिवारका लागि खर्च गर्न पाउँदा आनन्छ आउँछ,’ उनले थपिन्, ‘पैसा खर्च भएपछि भने ला सबै सकियो जस्तो पनि हुने रहेछ।’

लकडाउन भरी घर खर्च पठाएकी रचना सामान्य परिवारकी सदस्य हुन्। उनकी आमा एक वर्षअघिसम्म घरछेउमै चटपटे बेच्थिन्। पसलमा सबैले पालो दिने क्रममा रचना पनि बस्थिन्। त्यहाँ बस्दा गीत गुनगुनाइ राख्ने उनलाई एउटा युट्युब भिडिओमा ‘चटपटे बेच्ने गायिका’ का रूपमा प्रस्तुत गरियो।

लाखौंले मन पराएर भाइरल भएको त्यही भिडिओ रचनाका लागि वरदान साबित भइदियो। मीठो स्वरकी धनी रचनाले त्यसपछि पछिल्लो नेपाल आइडल सिजन-३ मा भाग लिएर आफ्नो नयाँ परिचय बनाइन्। अन्तिम आठसम्म पुग्न सफल उनले तीन पटकसम्म सबभन्दा धेरै भोट पाउने गायिका पनि बनिन्।

उनकै स्वरको पहिलो चर्चित गीत भने ‘फोटो फिरिममा’ हो। शिशिर भण्डारीको शब्द-संगीतमा यो गीत गाएपछि आफूलाई धेरैले गीत गाउने प्रस्ताव राखेको उनी बताउँछिन्।

रचनाको आवाजमा नारायण रायमाझीले यसअघि पहिल्यै चर्चा पाएको ‘उनको प्रीति पहिले हो कि’ गीत रि-रेकर्ड गराएका थिए। रचनाले स्वर दिएका यी गीत लाखौंले रूचाइसकेका छन्।

पछिल्लो समय रचनाले स्वर दिएका धेरै गीत स्रोताको रोजाइमा परेका छन्। ‘फोटो फिरेममा’, ‘मिनरल वाटर’, ‘पहिलो पल्ट भेट हुँदा’ आदि उनका केही मनपराइएका गीत हुन्। यो वर्ष तीजमा उनले पनि स्वर दिएको ‘आयौं चेली’ निकै चलेको थियो।

तीजदेखि दसैंसम्म छाएकी रचनाले तिहार आउनुअघिसम्म थप गीत रेकर्ड गराउने सम्भावना छ। के थाहा, तिहारमा पनि उनकै स्वरको चर्चा चल्ने हो कि?

रचनाका अनुसार गाउने सहमति भइसकेका दर्जनभन्दा बढी गीत छन्। भनिन्, ‘तर यतिबेला भने म गीतभन्दा गाउँमा हराउन चाहन्छु। परिवारसँग समय बिताउन चाहन्छु।’

हालसम्म उनको काठमाडौं बसाइ अस्थायी हो। अब भने आफैं कोठा खोजेर बस्ने तयारीमा छन्। काठमाडौं फर्केपछि संगीत कक्षा भर्ना हुने सोचमा छिन्। व्यस्त भए पनि औपचारिक शिक्षा नछोडी अगाडि बढ्ने योजना छ। पढाइमा आफूलाई गम्भीर बताउने रचना व्यक्तिगत कुराकानीमा आफूलाई रमाइलो स्वभावको बताउँछिन्।

‘मनमा लागेको कुरा भनिहाल्छु, छेउका मान्छे गलल्ल हाँसेपछि पो धत् भनेजस्तो हुन्छ,’ उनले भनिन्।

यस्तै घटना सुनाइन् पनिः

उनी काठमाडौं पहिलो पटक आउँदाको कुरा हो। शिशिर भण्डारी र अरू केही कलाकारको जमघट थियो। त्यहाँ उनले अभिनेता दयाहाङ राईलाई देखेर उत्साहित भइछिन्।

भनिछन्, ‘आब्बुई, ऊ हेर्नु त हिरो दयाहाङ राई!’

‘म त हसाइँदिन्छु। हसाइँदिन्छु भन्दा पनि मेरो कुराले अरू हाँस्नु हुने रहेछ,’ उनले सोधिन्, ‘तपाईंलाई पनि रमाइलो भाको होला हैन त मसँग कुरा गर्दा!’

उमेर सुहाउँदो निर्दोष र रमाइला कुरा गर्ने रचना काममा भने परिपक्व छन्। धेरैलाई लाग्दो हो, एक दिन नबिराई, रिहर्सलमा समय नदिई गीत गाउँदा गीतको स्तर खस्किन्छ।

तर चार कक्षा पढ्ने समयदेखि तारादेवी, कुन्ती मोक्तान, नारायणगोपालका गीत अभ्यास गर्ने उनलाई रिहर्सल गर्नेबित्तिकै फ्याट्टै गीत गाइहालम् जस्तो हुन्छ। त्यसरी गाएकै गीत राम्रो गाउन सकेजस्तो लाग्छ। बरू, स्वर भासिएका बेला भने गाउनु नपरोस् जस्तो लाग्छ।

व्यस्तता त त्यस्तै नै हो। हाँस्दै भनिन्, ‘घर आएपछि पनि अन्तर्वार्ता दिन भ्याइनभ्याइ छ।’ तस्बिर सौजन्यः रचनाको फेसबुक

सेतो पाटि बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय