अमेरिकाको फिलाडेल्फियामा मंगलवार राति सयौं मानिसले प्रदर्शन गरेका छन् । प्रहरीले काला जातिका एक पुरुषलाई गोली हानेर हत्या गरेको विरोधमा प्रदर्शन भइरहेको हो । दोस्रो दिनको प्रदर्शनमा लुटपाट र हिंसा समेत भएको छ ।

क्यास्टर र आरामिंगो क्षेत्रमा लगभग एक हजारजना मानिसको भीडले पसलहरूमा लुटपाट गरेको प्रहरी विभागले चेतावनी दिएको छ । मानिसहरूलाई उक्त क्षेत्रतिर नजान भनिएको छ ।

पश्चिमी फिलाडेल्फियामा एक हजारजना जतिको अर्को भीड लट्ठी बोकेका प्रहरीहरूसँग हिंस्रक रूपमा भिडेका थिए । पेन्सिल्भेनियाका गभर्नर टम वुल्फले शहरमा सयौं नेसनल गार्डका सुरक्षाकर्मीहरू तैनाथ गरिएको घोषणा गरे ।

वाल्टर वालेस नामक २७ वर्षीय युवकलाई प्रहरीले गोली हानेर मारेपछि हिंसा भड्किएको हो । वालेसलाई मानसिक समस्या रहेको उनको परिवारका मानिसले बताए ।

प्रहरीले ती युवकलाई किन गोली हानेको हो भन्ने विषयमा अस्पष्टता रहेको एज्रा अलीदाउ नामक कलाकारले बताए । ‘अमेरिकाभरि यस्तो भइरहेको छ । डरलाग्दो छ,’ उनले भने । ‘यी प्रहरीहरूलाई कम तालिम दिइएको छ ।’

गत मे महिनामा जर्ज फ्लोयड नामक काला जातिका पुरुषलाई प्रहरीले घाँटी थिचेर हत्या गरेपछि देशभरि विरोध र दंगा फैलिएको थियो ।

विरोधकर्ताहरूले प्रहरीमाथि रंगभेद र ज्यादतीको आरोप लगाएका छन् । यो विषय राष्ट्रपति चुनावको पनि मुद्दा बनेको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले प्रतिद्वन्द्वी जो बाइडनको तुलनामा कानून व्यवस्था कायम गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर