दमक । पहिलो चरणको निर्वाचन सफलताकासाथ सम्पन्न भएपछि दोश्रो चरणको निर्वाचनका लागि प्रदेश नं. १ को झापामा चुनावी रौनक तातेपछि बिभिन्न क्षेत्रको ब्यापार ह्वात्तै बढेको ब्यवसायिहरुले बताएकाछन् । निर्वाचन होला की नहोला भनेर आँशकामा बसेका यहाँका राजनीतिक दल र उम्मेद्वारहरु अहिले प्रचारप्रसारमा तिब्र रुपमा दौडिएसंगै बिभिन्न ब्यापार ब्यवसाय ह्वात्त बढेको पाईएको हो ।
मानिसहरुको चहल पहलसंगै यहाँका ब्यापार ब्यवसाय बढेको हो । छापाखाना, आर्टस्, होटल, कपडा, मदिरा तथा पेयपदार्थ, भाडाका सवारी साधन, सिटि सफारी लगाययतका क्षेत्रमा धेरै लगानि उम्मेदवार तथा राजनीतिक दलहरुले गर्न थालेकाछन् ।
ग्रामिण क्षेत्रमा रहेका स साना भट्टिपसलहरु समेत बेलुका अबेरसम्म खुल्न थालेको पाईएको छ । प्रायजसो सबै गाँउघरका भट्टिपसलहरुमा समेत चुनावी कुरा र माहोल नै आएको पाइन्छ ।
होटलमा मालमाल बिक्रि
निर्वाचनको माहोल तातेसंगै होटलहरुमा भिड बढ्न थालेको छ । राजनीतिक दल तथा उम्मेदवारहरुले होटलहरुमा नै मिटिङ तथा छलफल राख्न थालेका होटलमा बिक्रिहरु बढेको हो । झापाका एक होटल ब्यवसायिका अनुसार निर्वाचनले ब्यापार ब्यवसायमा सकारत्मक नै प्रभाव पारेको छ ।
चिसो पेयपदार्थ देखि लिएर होटलमा खाना तथा खाजा खाने आउने पार्टी नेता तथा कार्यकर्ताकहरुको आवतजावत हुन थालेको छ । बाँकी समेत गर्ने गरेकाले यसमा भने समयमा नै सचेत हुनु पर्ने अवस्था रहेको उनि बताउछन् । जित्नेले तिर्ने र पछि हार्नेले बिल नतिर्ने गर्ने परिपाटी रहेकाले होटल ब्यवसायिहरुले अहिले शुरुमा नै पैसा माग्ने गरेको बताइन्छ । मदिराको ब्यापार धेरै बढेको ब्यवसायिहरु बताउछन् । पार्टीमा खट्ने स्वयंसेवकदेखि लिएर मत प्रभाव पार्ने कामका लागि जाँडरक्सिको प्रयोग धेरै हुन थालेको बताइन्छ ।



