अमेरिकामा राष्ट्रपति चयनका लागि भएको निर्वाचनबाट पूर्व उपराष्ट्रपति जो बाइडेन निर्वाचित हुने सम्भावना बलियो हुँदै गएको छ । अहिले मतगणना भइरहेका ५ मध्ये चार राज्यमा पनि उनको फराकिलो अग्रता रहेको छ ।

सवैभन्दा धेरै इलोक्टोरल मत रहेको र लामो समयसम्म ट्रम्पले अग्रता लिइरहेको पेन्सिल्भानियामा पनि बाइडनले ट्रम्पलाई पछाडि पारेका छन् । अहिले गणना भइरहेका छ मध्ये यो पेन्सिल्भानियामा मात्रै विजयी भएपनि बाइडेन राष्ट्रपतिमा निर्वाचित हुनेछन् ।

अमेरिकामा राष्ट्रपति निर्वाचित हुन २७० इलोक्टोरल मत चाहिनेमा पेन्सिल्भानियामा मात्रै जितेपनि बाइडेनको कुल २७३ इलेक्टोरल मत हुनेछ । त्यस बाहेक नतिजा आउन बाँकी रहेकामध्ये जर्जिया, नेभाडा र एरिजोनामा पनि बाइडेनको अग्रता कायमै रहेको छ । ट्रम्पको अग्रता भने नर्थ क्यारोलाइना र अलास्कामा मात्रै रहेको छ । त्यसैगरी अब गन्न बाँकी हुलाकमार्फत आएका मतमा पनि बाइडेनको अग्रता कायमै रहन सक्ने आकलन गरिएको छ ।

अहिलेसम्मको अवस्थालाई हेर्दा ट्रम्प पुनः राष्ट्रपतिमा निर्वाचित हुने सम्भावना लगभग सकिएको धेरैले दाबी गरेका छन् । तर ट्रम्प पक्षले भने निर्वाचनको अन्त्य सम्ममा आफूहरुले नै जित्ने दाबी गर्न छाडेका छैनन् । आफू पराजित हुने देखेपछि ट्रम्पले निर्वाचनमा धाँधली भएको दाबी गर्दै आएका छन् ।

मतदान र मतगणनामा धाँधली भएको भन्दै उनले तत्काल मतगणना रोक्न माग गर्दै अदालतमा उजुरी पनि दिएका थिए । तर उनको उजुरीहरु अदालतले खारेज गरिदिएको छ ।

अन्तिम नतिजा आउनै लाग्दा उनले दिएका अभिव्यक्तिका कारण धेरै अमेरिकीहरुले उनको आगामी कदमको बारेमा आशंका र चिन्ता व्यक्त गरेका छन् । राष्ट्रपति ट्रम्पले निर्वाचन अझै नसकिएकाले तत्काल आफू विजयी भएको घोषणा नगर्न बाइडेनलाई चेतावनी दिएका छन् । उनले हुलाकबाट आएको मत र धाँधली भएका ठाउँहरुको बारेमा विवाद नटुंगिदासम्म विजयी भएको दाबी गर्न नमिल्ने तर्क गरे ।
तर बाइडेनले भने आफू विजयी हुने सुनिश्चित भइसकेको दाबी गर्दै कार्यालय सम्हाल्ने तयारीमा रहेको बताएका छन् । बाइडेनले सम्बोधन गर्दै स्पष्ट बहुमतसहित विजय हुनेतर्फ आफूहरू लम्किरहेको बताए । उनले झण्डै तीन सय इलोक्टोरल मतका साथ आफू विजयी हुने पनि अनुमान सुनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय