लन्डन – बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) ले कोरोनाविरुद्धको भ्याक्सिनको पूर्व तयारीको लागि गृहकार्य शुरु गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्धको खोपले ९० प्रतिशत सफलता पाएको समाचार आएलगत्तै सरकारले तत्कालै गृहकार्य शुरु गरेको हो । कोरोनाविरुद्धको खोपको पूर्व तयारी शुरु गरिएको स्वास्थ्य मन्त्री म्याट ह्यान्ककले बताएका हुन् ।

सम्भव भएसम्म चाडै नै भ्याक्सिन उपलब्ध गराउन बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) तयार रहेको उनले बीबीसीलाई बताए । डिसेम्बर १ बाट नै एनएचएसलाई तयारी अवस्थामा रहन भनिएको र क्रिसमस अगाडी नै खोपको सम्भावना रहेको पनि उनले जानकारी दिए ।

हप्ताको सातै दिन खोप उपलब्ध हुने र तेसको लागि स्थानीय जीपीलाई थप १.६ मिलियन पाउण्ड उपलब्ध गराउने पनि उनले बताएका छन् । सामान्य जीवनमा फर्किनको लागि कति मानिसलाई खोपको आवश्यकता पर्छ भन्ने यकिन नभएको भन्दै उनले सबैलाई धैर्य रहन आग्रह गरेका छन् ।

बेलायतले चार करोड डोज भ्याक्सिन अर्डर गरिसकेको छ, जुन दुई करोड मानिसको लागि पर्याप्त हुनेछ । कम्पनीका अनुसार यो भ्याक्सिन एक व्यक्तिको लागि दुई डोजको आवश्यकता पर्नेछ । अमेरिकी बहुराष्ट्रिय कम्पनी फाइजर र बायोटेकद्वारा विकास गरिएको भनिएको कोरोनाविरुद्धको पछिल्लो खोपको सफलताले सम्पूर्ण विश्वलाई नै थप आशाका किरण थपिदिएको छ ।

फाइजर र बायोटेकद्वारा विकास गरिएको उक्त खोप पारीक्षणको अन्तिम चरणमा रहेको र यसलाई नोभेम्बरको अन्तसम्ममा आकस्मिक प्रयोगको लागि अनुमोदन गरिने कम्पनीले बताएको छ ।

बेलायतको बर्मिङघम विश्वविद्यालयका औषधि विज्ञानका वरिष्ठ उपप्राध्यापक एवं युरोपियन सोसाइटी फर क्लिनिकल फार्मेसीका अनुसन्धान विभाग प्रमुख डा। विभु पौड्यालका अनुसार यसको अन्तिम परिणाम आउन बाँकी रहे पनि खोपको पछिल्लो नतिजा उत्साहजनक रहेको छ ।

छोटो समयको परिक्षणका आधारमा खोपलाई अनुमोदन गर्ने तयारी गरिएको हुँदा यसको प्रतिरोधात्मक क्षमता कति लामो समयसम्म रहन्छ भन्ने बारेमा अझै स्पष्ट नभएको पौडेलले रातोपाटीलाई बताए । यतिबेला विश्व नै आक्रान्त बनिरहेको अवस्थामा खोपको विकासले पाएको यो सफलता सकारात्मक भए पनि ढुक्क हुन् अवस्था नरहेको उनले बताए ।

बेलायतमा कोरोना संक्रमणको दर तीव्र हुदै गएपछि परीक्षणको दायरा बढाउन योर्कशायर, नटिंगहामशायर र वेष्ट मिडल्याण्ड लगायत करिब ७० वटा स्थानहरुमा नयाँ द्रुत गतिको परीक्षणको शुरु गर्न लागिएको छ, जसले एक घण्टा भन्दा पनि कम समयमा नतिजा दिनेछ । भर्खरै लिभरपुलमा गरिएको परीक्षणपछि यसलाई थप विस्तार गर्न लागिएको हो । बेलायतमा कोरोना संक्रमणका कारण ४९ हजार ७७० को ज्यान गैसकेको सरकारी तथ्याँकमा उल्लेख छ । तर, कोरोना संक्रमणका कारण मृत्यु दर्ताका आधारमा भने मृतक संख्या ६० हजार भन्दा बढी रहेको छ । यसैगरी पछिल्ला दिनहरुमा दैनिक २० देखि २५ हजारको हाराहारीमा नयाँ संक्रमित थपिने गरका छन् । हालसम्म कुल संक्रमितको संख्या १२ लाख ३३ हजार ७७५ पुगेको छ ।

बेलायतमा कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछी सरकारले इंग्ल्याण्डमा डिसेम्बर २ तारिखसम्मको लागि चार हप्ते लकडाउन लागू गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर