३३ वर्षकी खातिराले अन्तिम पटक देखेको दृश्य भनेको तीनजना पुरुषलाई मोटरसाइकलमा आइरहेको थियो तर तीनै तीनजना पुरुषले उनलाई अफगानिस्तानको मध्य गज्नी प्रान्तमा रहेको पुलिस स्टेशनको जागिर खाएर बाहिर निस्किरहेका बेला आक्रमण गरे । ती तीन पुरुषले उनलाई गोली हाने र चक्कूले दुबै आँखा घोपिदिए ।

अस्पतालमा ब्यूँझिदा सबैकुरा अँध्यारो थियो ।

‘मैले डाक्टरलाई मैले किन केही देखिरहेको छैन ? भनेर सोधँ । उनीहरुले घाउका कारण मेरो आँखामा अझै पट्टी बाँधिएको बताए । तर त्यति नै बेला मैले थाहा पाएँ कि मैले मेरा दुबै आँखा सदाका लागि गुमाइसकेकी छु,’ उनले भनिन् ।

स्थानीय निकाय र उनी स्वयंले आफूलाई तालिबानी सैनिकले आक्रमण गरेको आरोप लगाएकी छिन् । तालिबानले उक्त आक्रमणमा आफ्नो संलग्नता अस्विकार गरेको छ । खातिराका अनुसार आक्रमणकारीले उनको बुवाले दिएको सूचनाको आधारमा उनलाई आक्रमण गरेका हुन् । उनका बुवालाई छोरी घरबाहिर काम गरेको कुरा फिटिक्कै चित्त बुझेको थिएन । उनी यसको विरोधी थिए ।

खातिराका लागि उक्त आक्रमणले उनको आँखाको ज्योति मात्रै खोसेन, यसले उनको सपना तुहायो । स्वतन्त्र करियर प्राप्तिका लागि उनले ठूलो संघर्ष गर्नुपरेको थियो । उनी गज्नी पुलिसको अपराध शाखामा केही महिना अघि मात्रै अफिसरको रुपमा नियुक्त भएकी थिइन् ।

‘मैले कम्तीमा एक वर्ष प्रहरीको रुपमा काम गर्न पाएको भए हुन्थ्यो । ममाथि यस्तो आक्रमण हुनु नै थियो भने पनि एक वर्षपछि भएको भए, यो कम पीडादायी हुन्थ्यो । ममाथि निकै छिटो आक्रमण भयो । म तीन महिनाका लागि मात्रै काममा गएँ र मैले छोटो समयका लागि मात्रै आफ्नो सपना बाँच्न पाएँ,’ उनले रोयटर्सलाई भनिन् ।

वाल्यकालदेखिको सपना खोसियोः

खातिरा वाल्यकालदेखि नै घरबाहिर काम गर्ने सपना देख्थिन् । उनले आफ्नो बुवालाई मनाउने लाख कोसिस गरिन् तर सफल हुन सकिनन् । तर उनले आफ्नो श्रीमानको भने समर्थन पाइन् ।

उनका अनुसार तर उनका बुवाले छोरी घरबाहिर काम गरेको हेर्न नै चाहेनन् ।

‘म ड्युटी जाँदा मैले धेरैपटक बुवाले पिछा गरिरहेको देख्थेँ… उनले तालीबानलाई सम्पर्क गर्न थाले र मलाई आफ्नो काममा जानबाट रोक्न अह्राए,’ उनले भनिन् ।

उनका अनुसार उनका बुवाले तालिबानलाई उनको आइडी कार्डको फोटोकपीसमेत उपलब्ध गराए ।

गज्नी प्रहरीका प्रवक्ताले खातिराको आक्रमणमा तालिबानको संलग्नता रहेको कुरामा आफूहरु विश्वस्त रहेको बताए । खातिराका बुवालाई पक्राउ गरिसकिएको छ ।

यता तालिबानका प्रवक्ताले आफूहरुलाई घटनाबारे जानकारी भएको तर उक्त घटना पारिवारिक मामिला भएकोले आफ्नो यसमा कुनै पनि संलग्नता नभएको भन्दै स्पष्टिकरण दिए ।

हाल खातिरा र उनको परिवार, पाँच सन्तानसहित काबुलमा लुकेर बसिरहेका छन् जहाँ उनी निको हुने प्रक्रियामा छिन् र आफ्नो गुमाएको करियरका लागि अत्यधिक पिरलोमा छिन् ।

उनलाई निद्रा लाग्दैन, मोटरसाइकलको आवाज सुन्नेबित्तिकै उफ्रन्छिन् र आफ्नो संयुक्त परिवारसँग कुनै पनि सम्पर्कमा रहेकी छैनन् । उनी आमासँग पनि सम्पर्कमा छैनन् । उनकी आमाले उनलाई बुवालाई पक्राउ गराएको भन्दै आरोप लगाएकी छिन् ।

खातिरा विदेशमा रहेका डाक्टरले आफ्नो आँखाको ज्योति थोरै मात्र पनि फर्काउन सक्ने हुन् कि भन्ने कुरामा उनी निकै आशावादी छिन् ।

‘यदि यो सम्भव भए, यदि मेरो आँखाको ज्योति फकिए, म आफ्नो काममा फर्कनेछु र प्रहरीको रुपमा पुनः आफ्नो जिम्मेवारी सम्हाल्नेछु । यो मेरा लागि निकै महत्वपूर्ण छ किनभने घरबाहिर काम गर्नका लागि म वाल्यकालदेखि नै लालायित थिएँ,’ उनले भनिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर