सन् २०२० को आरम्भमै अमेरिकाले ड्रोन आक्रमण गरेर इरानका मेजर जनरल कासिम सुलेमानीको हत्या गरेपछि विश्वयुद्ध शुरू हुने आशंका गरिएको थियो । अहिले विश्वका विभिन्न मुलुकका सम्बन्धमा तनाव बढिरहेको अवस्थामा तेस्रो विश्वयुद्धको चिन्ता फेरि व्यक्त गरिन थालेका छन् ।

बेलायतबाट निस्कने एक्सप्रेस पत्रिकाको अन्लाइन संस्करणमा विश्वयुद्ध शुरू हुन सक्ने ६ ठाउँको चर्चा गरिएको छ ।

अमेरिका–इरान
अमेरिकाले इरानका मेजर जनरल कासिम सुलेमानीको हत्या गरेपछि इरानले कठोर प्रतिशोध लिने प्रतिज्ञा गरेको छ अनि दिनलाई रात बनाइदिने धम्की दिएको छ । यस हत्यालाई शीर्ष तहका इरानीहरूले युद्धको घोषणाका रूपमा लिएका छन् ।

इरान–इजरायल
इरान र इजरायलबीच पश्चिम एसियामा ससाना लडाइँहरू भइरहेका छन् । इरानले इजरायलविरोधी समूहहरूलाई गाजा, सिरिया र लेबननमा सहायता दिइरहेको छ भने इजराण्लले इरानी बलहरूमाथि आक्रमण गर्ने गरेको छ ।

इरानले आणविक हतियार कार्यक्रम पुनः शुरू गरेमा इजरायलले इरानको मुख्यभूमिकै आक्रमण गर्न सक्ने सम्भावना छ । यस्तो किसिमको आक्रमणले विश्वव्यापी तेल आपूर्तिमा असर पर्ने हुनाले अन्य देश पनि युद्धमा सहभागी हुन सक्छन् ।

अमेरिका–टर्की
टर्कीले अमेरिकालाई नटेरी रुससँग एस–४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली किनेकाले अमेरिका उससँग रिसाएको छ । अमेरिकाले टर्कीलाई प्रतिबन्धको धम्की समेत दिएको छ तर टर्की डेग चलेको छैन ।
त्यसमाथि टर्कीले भूमध्यसागर क्षेत्रमा प्रभुत्व जमाउनका लागि अनेकौं प्रयासहरू गरिरहेको छ ।

अनि टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनले आणविक हतियार प्रयोग गर्ने इच्छा व्यक्त गरेका छन् । टर्की आक्रामक बन्दै जाँदा अमेरिकी नेतृत्वको नेटोमा पनि समस्या देखिएको छ ।

कश्मीर
भारत र पाकिस्तानबीच कश्मीरको विषयमा तनाव झन् झन् चर्किरहेको छ । यसैका लागि यी दुई मुलुकले युद्धहरू लडिसकेका छन् ।

नरेन्द्र मोदी सरकारले कश्मीरको स्वायत्ततालाई खारेज गर्ने कदम चालेपछि दिल्ली र इस्लामाबादबीचको सम्बन्ध झनै चिसिएको छ ।

त्यसमाथि चीनलाई चिन्तित पार्ने गरी दिल्ली र वाशिङटनबीच सामरिक सम्बन्ध घनीभूत बन्दै जाँदा थप खतरनाक अन्तर्राष्ट्रिय परिस्थिति विकसित हुने खतरा छ ।

अमेरिका–उत्तर कोरिया
अमेरिका र उत्तर कोरियाबीचको सम्बन्धमा तनावको स्थिति रहँदा कुनै पनि बेलामा भिडन्त हुन सक्छ । ट्रम्पले किम जोङ उनसँग राम्रो सम्बन्ध बनाएको भए पनि बाइडनले किमलाई ठग भनेकाले दुई देशबीचको सम्बन्ध निकट भविष्यमा थप चिसिने देखिएको छ ।

केही दिनअघि उत्तर कोरियाले अमेरिकालाई क्रिसमस उपहार दिने भनेको थियो र यो आणविक वा ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण हो कि भनी धेरैले आशंका गरेका छन् । उत्तरले यस्तो परीक्षण गरेमा अमेरिका हस्तक्षेप गर्न बाध्य हुन सक्छ ।

अमेरिका–चीन
अमेरिका र चीनको सम्बन्ध केही वर्षयता तनावग्रस्त छ । यिनीहरूले व्यापारयुद्ध गरिरहेका छन् र दक्षिण चीन सागरमा आमनेसामने भएका छन् । अनि पूर्वी चीन सागर र ताइवान जलसन्धिमा चीन र अमेरिकाको भिडन्त हुने सम्भावना प्रबल छ ।

ताइवानलाई घातक आक्रामक हतियार बेचेर अमेरिकाले चीनसँग लडाइँका लागि पृष्ठभूमि तयार पारिरहेको जस्तो देखिएको छ । चीनले रुससँग सम्बन्ध घनीभूत बनाएको अनि अमेरिकाले भारत, जापान र अस्ट्रेलियालाई आफ्नो साझेदार बनाएको स्थितिमा दुई पक्षबीचको युद्ध विश्वयुद्धमा परिणत हुने जोखिम उच्च छ ।

प्रतिक्रिया

सम्बन्धित खवर