२ मंसिर, काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडनले अमेरिका र उसका सहयोगी मुलुक मिलेर चीनको बढ्दो प्रभावविरुद्ध लड्नुपर्ने बताएका छन् । यद्यपि उनले चीन सम्मिलित एसियाली व्यापार सम्झौता(आरसीईपी) मा सहभागी हुने वा नहुने भन्ने विषयमा भने केही बताएका छैनन् ।

आइतबार एसियाली मुलुकहरुको व्यापार सम्झौतामा हस्ताक्षर भएको थियो । १५ मुलुकबीचमा भएको आरसीईपी सम्झौतामा जोडिने वा नजोडिने भन्ने विषयमा गरिएको प्रश्नमा बाइडनले आफू अझै कार्यालयभन्दा बाहिर रहेको र आफूले अमेरिकाको व्यापारिक नीतिको विषयमा सल्लाह गर्न बाँकी रहेको बताए । उनले अहिले अमेरिकामा केवल एकजना मात्र राष्ट्रपति रहेको कुरालाई पनि मनन गर्नुपर्ने बताए ।

बाइडनले अहिले अमेरिकाले समग्र विश्वको कुल ग्रार्हस्थ उत्पादन (जीडीपी) को २५ प्रतिशतको हिस्सा बनाएको र थप २५ प्रतिशत वा सोभन्दा धेरै अर्थतन्त्र भएका प्रजातान्त्रिक मुलुकहरुसँग सहकार्य गरी नीति निर्माण गर्नु जरुरी रहेको बताए ।

आइतबार भियतनामको हानोईमा भएको सम्मेलनमा विभिन्न १५ मुलुकहरुले आरसीईपी सम्झौतामा हस्ताक्षर गरेका थिए । यो सम्झौतामा सहभागी मुलुकहरुले समग्र विश्वको ३० प्रतिशतको जीडीपीको हिस्सा ओगट्छन् । पहिलोपटक चीन, जापान र दक्षिण कोरिया एउटै सम्झौतामा आबद्ध भएका हुन् ।

यसैबीच चीनले भने बाइडनको कार्यकालमा चीन–अमेरिका सम्बन्धमा सुधार हुने विश्वास लिएको छ । मंगलबार चिनियाँ सुरक्षा नियामकका शीर्ष अधिकारीले यस्तो विश्वास व्यक्त गरेका हुन् । चाइना सेक्युरिटिज रेगुलारिटी कमिसनका उपाध्यक्ष फाङ सिघाईले चार वर्षको कार्यकालमा दुई मुलुकको सम्बन्धको अहिलेको तुलनामा निकै राम्रो बन्ने बताएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय