रुपन्देहीको तिलोत्तमा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरू जनस्वास्थ्य मापदण्ड पालन गर्दै मंसिर ७ गतेदेखि खुल्ने भएका छन् ।

कोरोना महामारीका कारण गत चैतदेखि बन्द रहेका विद्यालय विद्यार्थीलाई भौतिक रूपमै कक्षाकोठामा शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराउने गरी खुल्ने भएका हुन् ।

संघीय सरकारले तय गरेको विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा अनुसार जनस्वास्थ्य मापदण्ड अवलम्बन गरी विद्यार्थीको पठनपाठन सञ्चालन गर्ने निर्णय भएको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिए । उनका अनुसार नगर शिक्षा समितिको विस्तारित बैठकमा छलफल भई नगर स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले बिहीवार पारित गरेको मापदण्डमा रहेर विद्यालय खुल्ने भएका हुन् ।

तोकिएको मापदण्डअनुसार विद्यालय सञ्चालन भए/नभएको अनुगमन गर्न जनप्रतिनिधि, राजनीतिक दल, शिक्षक संघ–संस्था, प्याब्सन, एनप्याब्सनका प्रतिनिधि रहेको अनुगमन समिति समेत गठन गरिएको छ ।

मापदण्डअनुसार विद्यालयले कक्षा कोठाभित्र विद्यार्थीको भौतिक दूरी कायम गर्न एक बेञ्चमा २ जना विद्यार्थी मात्र राख्ने व्यवस्था मिलाउनुपर्नेछ । विद्यार्थी संख्या, भौतिक पूर्वाधारको उपलब्धता समेतको आधारमा कक्षा एकदेखि आलोपालो विधिबाट कक्षा सञ्चालन गर्ने मापदण्ड तय गरिएको छ । मापदण्डअनुसार अर्को निर्णय नहुँदासम्म विद्यालयले १ कक्षाभन्दा तल ‘प्ले ग्रूप’, नर्सरी, एलकेजी, यूकेजीका विद्यार्थीलाई विद्यालय बोलाउन पाउने छैनन् ।

ज्वरो तथा रुघाखोकी लागेका विद्यार्थी वा घरका सदस्य कोरोना संक्रमित भएमा ती परिवारका विद्यार्थीलाई विद्यालय पठाउन पाइने छैन । विद्यार्थी, शिक्षक, कर्मचारी विद्यालय हाताभित्र प्रवेश गर्दा अनिवार्य रूपमा साबुन पानीले हातधुने, मास्क लगाउने, तापक्रम मापन गर्ने व्यवस्था सम्बन्धित विद्यालयले मिलाउनुपर्ने मापदण्डमा भनिएको छ । ४०० भन्दा बढी विद्यार्थी संख्या भएका विद्यालयले अनिवार्य रूपमा कम्तिमा १ जना विद्यालय नर्सको व्यवस्था गर्ने तथा सोभन्दा कम विद्यार्थी भएका विद्यालयले नजिकको सरकारी स्वास्थ्य संस्थासँग समन्वय र सम्पर्क गरी आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने पनि मापदण्डमा उल्लेख छ ।

विद्यालयमा विद्यार्थीको बसाई अवधि लामो हुन नदिन मध्यान्तर नगरी निरन्तर रूपमा कक्षा सञ्चालन गर्नुपर्ने, बस सेवा सञ्चालन गर्दा सिट क्षमताभन्दा बढी विद्यार्थी राख्न नपाइने, बस प्रयोग गरेको दिनको आधारमा मात्र विद्यार्थीबाट बस भाडा लिनुपर्ने पनि मापदण्डमा तोकिएको छ । विद्यालयले व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थी लगायत सरोकारवाला सबैलाई समेटी मापदण्डअनुसार कक्षा सञ्चालन कार्ययोजना बनाई मंसिर १० गतेभित्र नगरपालिकाको शिक्षा शाखामा अनिवार्य रूपमा पेश गर्न नगरपालिकाले भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय