संसारमा अहिले दुई ज्वाइँको चर्चा खुबै चलिरहेको छ ।

टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनका ज्वाइँ बेरात अलबायराकले अर्थमन्त्री पदबाट राजीनामा दिएका छन् भने अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पका ज्वाइँ ज्यारेड कशनरले ह्वाइट हाउस छोड्ने दिन आउन लागेको छ ।

बेरात र ज्यारेडबीच मित्रताको चर्चा पनि भइरहेको छ । एर्दोआनले ज्वाइँको मित्रताकै आधारमा ट्रम्प प्रशासनसँग डील गर्ने गरेको बताइन्छ ।

बेरातले अर्थमन्त्री पदबाट राजीनामा दिनुलाई पनि बाइडनको आगमनसँग जोडिएको छ ।

ज्यारेड कशनर राष्ट्रपति ट्रम्पका वरिष्ठ सल्लाहकार हुन् । ट्रम्पको परराष्ट्रनीतिमा कशनरको महत्त्वपूर्ण भूमिका रहेको छ ।

अमेरिकी संसदमा टर्कीको सम्बन्धमा ट्रम्पको नीतिको आलोचना पनि भइरहेको छ ।

यसै वर्ष एक टीभीलाई अन्तर्वार्ता दिँदै एर्दोआनले बेरात र कशनरको मित्रतालाई अमेरिका र टर्कीबीचको ब्याकडोर डिप्लोमेसी भनेका थिए ।

टर्कीका विषयमा ट्रम्पको नीति आश्चर्यजनक छ । उनले पहिलेपहिलेका रिपब्लिकन राष्ट्रपतिहरू भन्दा फरक बाटा अपनाए ।

ट्रम्पले टर्कीको विषयमा दुईपटक आश्चर्यजनक निर्णय लिए । उत्तरी सिरियाबाट अमेरिकी सैनिक फिर्ता बोलाउने पहिलो निर्णय थियो ।

अर्को निर्णय अमेरिका समर्थित कुर्दिश लडाकूहरूमाथि टर्कीका सैनिकहरूलाई आक्रमणको अनुमति दिँदा संसार आश्चर्यमा पर्‍यो ।

ट्रम्प प्रशासनले इरानमाथिको प्रतिबन्ध कडा बनाएको भए पनि टर्कीका सरकारी बैंकहरूले तिनलाई उल्लंघन गरे तर ट्रम्पले उनीहरूलाई सजाय दिएनन् । टर्कीले रुसको क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली लगाउँदा पनि ट्रम्प प्रशासन चुप रह्यो ।

ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले बताएअनुसार, ट्रम्प राष्ट्रिय हितलाई निजी सम्बन्धले थिच्न चाहन्थे । रुसबाट हतियार किनेको विषयमा टर्कीमाथि प्रतिबन्ध लगाउन उनी अनिच्छुक थिए ।

न्युयोर्क टाइम्सको एक समाचारअनुसार, रुसी क्षेप्यास्त्र, बैंकमा प्रतिबन्ध तथा अन्य मामिलामा एर्दोआन फस्दा ज्वाइँ बेरात र ट्रम्पको कारोबारका टर्किश साझेदार मेहमत अली यालसिन्दोगलाई कशनर मार्फत ह्वाइट हाउस पठाउने गरेका थिए ।

एर्दोआनलाई यति धेरै फाइदा दिलाउने ज्वाइँलाई उनले किन सरकारबाट हटाए ? एर्दोआन परिवारमा सबै ठीकठाक छ ?

एर्दोआनका ज्वाइँ बेरातलाई उनको राजनीतिक उत्तराधिकारी मानिने गरेको थियो । बेरातको विवाह एर्दोआनकी जेठी छोरी एसरासँग भएको हो ।

जवाहरलाल नेहरू विश्वविद्यालयमा पश्चिम एसिया मामिलाका प्राध्यापक एके पाशाका अनुसार, बाइडन प्रशासन परिवारमा आधारित रहने छैन भन्ने एर्दोआनलाई थाहा छ ।

उनले भने, ‘ट्रम्पसँग एर्दोआन र उनका ज्वाइँले ज्यारेड कशनर र इभान्का ट्रम्पमार्फत मित्रताको फाइदा उठाउने गरेका थिए । तर अब त्यो हुँदैन । बाइडन प्रशासनमा ज्वाइँको काम छैन ।’

बेरातले नोभेम्बर ८ मा इन्स्टाग्राममा एउटा पोस्ट लेखेर राजीनामाको घोषणा गरेका थिए । टर्कीको अर्थतन्त्र लगातार पतन भइरहेको स्थितिमा उनको राजीनामा आएको हो । स्वास्थ्यका कारण राजीनामा दिएको उनले बताएका छन् ।

बेरातले राजीनामा दिएको एक दिनअघि टर्कीको केन्द्रीय बैंकका प्रमुखलाई एर्दोआनले हटाएका थिए ।

सरकारको गलत नीतिका कारण अर्थतन्त्रको हालत खस्किएको आलोचकहरू बताउँछन् । टर्कीको मुद्रा लीरामा यस वर्ष ३० प्रतिशतको गिरावट आएको छ ।

एर्दोआनले ज्वाइँको राजीनामापछि लुत्फी इलवानलाई गृहमन्त्री बनाएका छन् । उनी पूर्व उपप्रधानमन्त्री हुन् र अर्थशास्त्रका विद्यार्थी पनि ।

अमेरिकाका सत्तापरिवर्तन हुने भएपछि टर्कीको राजनीतिमा हलचल भइरहेको बताइएको छ । जो बाइडनले टर्कीको विषयमा कठोरता अपनाउने र कुनै पनि ब्याकडोर डिप्लोमेसीलाई ध्यान नदिने बताइएको छ ।

एर्दोआनले बाइडनलाई अहिलेसम्म जीतको बधाई दिएका छैनन् । बाइन आएपछि टर्कीको अर्थतन्त्रलाई झट्का लाग्न सक्ने अनुमान गर्दै एर्दोआनले अर्थ मन्त्रालय बलियो मानिसलाई सुम्पेको पनि बताइँदैछ ।

बीबीसी हिन्दीबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय