डडेल्धुरा। चिसो बढेसँगै डडेल्धुरामा निमोनिया, रूघाखोकी तथा दमरोगका बिरामीको सङ्ख्या बढ्दै गएको छ।

चिसो सुरु भएयता अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको सङ्ख्या बढ्दै गएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पहिले दैनिक ३०/४० जना मात्र निमोनिया, रूघाखोकी तथा दमका बिरामी आउने गरेकामा हाल दैनिक ७०/८० भन्दा बढी बिरामी उपचारका लागि अस्पतालमा आउने गरेको डडेल्धुरा अस्पतालले जनाएको छ।

चिसो बढेसँगै डडेल्धुरामा मौसमी रुघाखोकीलगायत अन्य खालका बिरामीको सङ्ख्यामा वृद्धि भएको डडेल्धुरा अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तले बताए।

चिसोले बिरामी हुनेमा बालबालिका र वृद्धवृद्धा बढी छन्।

मंसिर पहिलो सातादेखि डडेल्धुरामा विस्तारै चिसो बढ्न थालेपछि मौसमी रूघाखोकी, निमोनिया, ज्वरो आउने तथा अन्य खालका बिरामीको सङ्ख्यामा वृद्धि भएको सूचना अधिकारी पन्तको भनाइ छ।

चिसो समयमा बालबालिकामा निमोनियाको समस्या र अन्य व्यक्तिमा रूघाखोकीलगायतको समस्या हुने भएकाले घरपरिवारका सदस्यले हेरचाहमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ।

चिसोको समयमा भाइरस सक्रिय भएर बालबालिका र वृद्धवृद्धालाई असर पार्ने भएकाले चिसोबाट बच्न न्यानो लुगा लगाउने, तातो, झोलिलो खानेकुरा खानुपर्ने अमरगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेशबहादुर विष्टले बताए। रासस