अमेरिकाले कोरोनाभाइरसका विरुद्ध सार्वजनिक रुपमा खोप दिन शुरु गरिसकेको छ । तर आम जनतामा खोपको बारेमा धेरै भ्रम र आशंकाहरु व्याप्त छ । त्यसले आम जनताका ठूलो हिस्साले खोप लिन डराइरहेका छन् । यो स्थितिमा जनतालाई खोपप्रति विश्वास र भरोसा दिलाउन अमेरिकाका उपराष्ट्रपतिले सार्वजनिक रुपमा खोप लिने भएका छन् ।

त्यसअनुसार भोलि शुक्रबार उपराष्ट्रपति माइक पेन्स र उनका श्रीमती करेन पेन्सले फाइजर–बायोएनटेकले निर्माण गरेको खोप सार्वजनिक रुपमा लिँदैछन् । ह्वाइटहाउस प्रशासनले ‘खोपको सुरक्षा र प्रभावकारिताको बारेमा जानकारी दिन तथा अमेरिकी जनतामाझ आत्मविश्वास जगाउन यो कदम चालिएको’ जनाएको छ ।

उपराष्ट्रपति पेन्सले ह्वाइट हाउसको कोरोनाभाइरस टास्क फोर्सको नेतृत्व गर्छन् । यो कदमलाई अमेरिकी जनतामा खोपप्रतिको विश्वास जगाउन एउटा फड्को कदमको रुपमा लिइएको छ ।

उपराष्ट्रपतिसँगै अमेरिकाका सर्जन जनरल जेरोम एडम्सले पनि खोप लिने छन् ।

अमेरिकाका शीर्षस्थ संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी एस. फाउचीले गत मंगलबार आफूले पहिल्यै कोभिड– १९ भइसकेको भए पनि राष्ट्रपति ट्रम्पलाई समेत भ्याक्सिन लिन सिफारिश गर्न चाहेको बताएका थिए । साथै, उनले नवनिर्वाचित राष्ट्रपति वाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले पनि चाँडो कोभिड–१९ को खोप लिनका लागि विशेष सिफारिश गरेका छन् । सुरक्षाको दृष्टिकोणले पनि उनीहरुले चाँडोभन्दा चाँडो खोप लिनु उचित हुने फाउचीले बताएका छन् ।

उता नवनिर्वाचित राष्ट्रपति वाइडेनले पनि गत मंगलबार आफूले भ्याक्सिन लिँदा त्यसको जानकारी दिने र सार्वजनिक रुपमा लिने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय