लण्डन । बेलायतका विभिन क्षेत्रमा कोरोना संक्रमण दर तीव्र रुपमा बढ्न थालेपछि बेलायत सरकारले शनिबार थप कडा प्रतिबन्धको घोषणा गरेको छ ।

यसअघि संक्रमण दरका आधारमा निर्धारित गरिएको ‘टीयर ३’ अन्तर्गतको वर्गीकरणलाई ‘टीयर ४’ मा राखिएको प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार विशेष सम्बोधनमार्फत् जानकारी दिएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आइतबारबाट तत्कालै लागू हुनेगरी कम्तिमा दुई साताको लागि लन्डन, केन्ट, एस्सेक्स तथा बेडफोर्डशायर लगायतका क्षेत्रहरुमा अहिले खुला रहेका कपडा पसल, इन्डोर जीमखाना, हेयर ड्रेसर लगायतका व्यवसाय पूर्ण रुपमा बन्द हुनेछन् ।

सो अवधिमा आत्यावश्यकबाहेक बाहिर ननिस्कन भन्दै सरकारले ‘स्टे होम’ को अपील जारी गरेको छ । यस अघि क्रिसमसको समयमा ५ दिनको लागि पारिवारिक जमघटका लागि छुट दिने सरकारको निर्णयलाई खारेज गरेर क्रिसमसका दिनमा मात्र सिमित गरिएको छ ।

यो नियम इंग्ल्याण्ड,स्कटल्याण्ड तथा वेल्समा समेत लगू हुनेछ । हाल जारी गरिएको प्रतिबन्ध बेलायतमा लागू गरिएको दस्रो देशव्यापी लकडाउन जस्तै भएको प्रधानमन्त्रीले बताएका छन् ।

पछिल्ला दिनमा बेलायतमा भाइरसले स्वरूप परिवर्तन गरेर नयाँ खालको भाइरस देखा परेको र यो द्रुत गतिमा फैलिएको भन्दै वैज्ञानिकहरुले यसबारे थप अध्ययन,अनुसन्धान गरिरहेका छन् ।

उक्त नयाँ भाइरस कत्तिको खतरनाक छ भन्ने बारेमा अझै आधिकारिक पुष्टि भएको छैन ।

बेलायतमा पछिल्लो २४ घन्टामा थप २७ हजार ५२ जना नयां संक्रमित थपिएका छन् । योसँगै बेलायतमा कोरोना संक्रमित हुनेको संख्या दुई मिलियन अर्थात २० लाख नाघेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । यसैगरी कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि ६७ हजार नाघेको छ । गएको २४ घन्टामा थप ५३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बेलायतमा कुल मृतक संख्या ६७ हजार ७५ पुगेको छ । यसैगरी हस्पिटल भर्ना हुनेको संख्यामा अत्यधिक रुपमा वृद्धि भैरहेको बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) ले जनाएको छ । पछिल्लो २४ घन्टामा एक हजार ९०७ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएका छन् ।