इजरायलमा संसद विघटन भएको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गठबन्धन गरेका रक्षा मन्त्री बेन्नी गान्ट्जसँग कुरा नमिलेपछि बुधवार संसद विघटनको घोषणा गरेका हुन्।
कोरोना संक्रमण नियन्त्रण गर्न असफल भएको भन्दै आलोचना खेपिरहेका नेतान्याहुको गठबन्धन सरकारले संसदमा बजेट पारित गराउन सकेको थिएन। यसबीच गठबन्धनमा समस्या देखिएपछि नेतान्याहु संसद विघटन गर्ने निर्णयमा पुगेका हुन्।
गान्ट्जसँग मिलेर गठबन्धन सरकार बनाएका नेतान्याहुले आलोपालो प्रधानमन्त्री बन्ने सहमतिका साथ गत अप्रिलमा गठबन्ध सरकार गठन निर्माण गरेका थिए। जस अनुसार नेतान्याहुले १८ महिना सरकार संचालन गर्ने र गान्ट्जले सन् २०२१ को नोभेम्बरमा सरकारको नेतृत्व गर्ने सहमति भएको थियो। गान्ट्जले देश र गठबन्धनमा स्थायित्वका लागि सन् २०२० र २०२१ गरी दुवै वर्षका लागि बजेट पारित हुनुपर्ने बताएका थिए। तर, नेतान्याहुले सन २०२१ को बजेट प्रस्ताव अनुमोदन गर्न मानेनन्। आफू सत्तामा रहिरहन र गठबन्धनलाई अस्थिर बनाउन नै नेतान्याहुले गान्ट्जको प्रस्ताव अस्वीकृत गरेको विश्लेषकहरुको दाबी छ।
मंगलवारसम्म बजेट पारित गराउन पर्ने समयवधि सकिएपछि नेतान्याहुले संसद विघटन गर्दै निर्वाचन घोषणा गरेका हुन्।
संसद विघटनसँगै इजरायलमा दुई वर्षमा अब चौथोपटक निर्वाचन हुने भएको छ। मार्च २३ मा निर्वाचन गर्ने घोषणा इजरायल सरकारले गरेको छ।



