काठमाडौं । कोरोनाविरुद्धको भ्याक्सिन आएपछि सन्तोषको सास फेरिरहेको विश्व जगतमा फेरि अर्को संकट आएको छ । पहिलेको भन्दा खतरनाक भनिएको कोरोनाको नयाँ प्रजातिले विश्‍वमा नयाँ संकट ल्याइदिएको हो ।

बेलायतमा तीव्र गतिमा फैलिरहेको कोरोनाको नयाँ रुपले पूरै युरोपको अवस्था फेरि खलबलाइदिन थालेको छ । धेरै मुलुकहरुले बेलायतसँगको हवाई सम्पर्क बन्द गरिसकेका छन् । नेपालले पनि कोरोनाको नयाँ प्रकार नित्रिन नदिन बेलायतबाट नेपाल आउनमा प्रतिबन्ध लगाएको छ । तर यतिले मात्रै नयाँ कोरोनाको जोखिमलाई रोक्न पर्याप्त नहुँने विज्ञहरुको भनाई छ ।

नयाँ प्रजातिको कोरोना पहिलेको भन्दा निकै संक्रामक रहेको जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले बताए । यो प्रजाति नेपालमा पनि भित्रिने जोखिम रहेको उल्लेख गर्दै उनले अहिलेदेखि नै सतर्कता अपनाउन सरकारसँग माग गरेका छन् । नयाँ प्रजातिको भाइरस भित्रिन नदिन विमानस्थल तथा सिमानामा कडाइ गर्न जनस्वास्थ्य विज्ञ डा. पाण्डेले सरकारसँग आग्रह गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘जनस्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा अवलम्बन नगर्ने हो भने महामारी दोहोरिन सक्छ ।’

हेरौं डा. पाण्डेको सुझाव उनकै शब्दमा..
दोस्रो लहरको चपेटामा परेको युरोप अहिले म्युटेसन भएर नयाँ भेरिएन्टका रूपमा बेलायतबाट फैलिएको कोरोना महामारीको अर्को अध्यायमा प्रवेश गर्ने जोखिममा छ ।

बेलायतको दक्षिणपूर्वी क्षेत्रबाट फैलिएको यो प्रजातिको भाइरसले सिंगो बेलायतलाई असर गरेको छ । आयरल्यान्ड, फ्रान्स, जर्मनी, दक्षिण अफ्रिका, जापानलगायतका देशमा पनि यो भाइरस भित्रिएको छ । नयाँ प्रजातिको यो भाइरस सर्ने दर तीव्र छ । यसको घातकता अझै निश्चित भएको छैन ।

हामीले एयरपोर्ट तथा सिमानामा कडाइ नगर्ने हो भने तथा जनस्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा अवलम्बन नगर्ने हो भने महामारी फेरि दोहोरिन सक्छ । घातक प्रभाव कम भए पनि जोखिम वर्गका व्यक्ति तथा कमजोर स्वास्थ्य प्रणाली भएकाका लागि यो नयाँ भाइरस ठूलो चुनौती हुनेछ । हाम्रो देशमा अहिले आन्दोलनको मौसम छ । दैनिक भइरहेका भीडभाडयुक्त बैठक, प्रदर्शनी, जुलुस, नाराबाजी आदिका कारण संक्रमण फैलिने ठूलो खतरा छ ।

अहिले महामारीको अवस्था कम भएको बेला हामी सबैले अनिवार्य र सही तरिकाले मास्क लगाउने तथा भीडभाड नगर्ने हो भने हामी सुरक्षित हुनेछौं । विरोध तथा भेलाको स्वरूप बदलेर जनस्वास्थ्यका मापदण्ड पालना गर्नु/गराउनु नितान्त जरुरी छ । जसरी उहानबाट सुरु भएको महामारी संसारभर फैलियो, त्यसैगरी बेलायतबाट सुरु भएको नयाँ प्रजातिको महामारी सबै देशमा नपुग्ला भन्न सकिँदैन, सरकारले यो नयाँ प्रजातिको भाइरसको रोकथाम गर्न आवश्यक रणनीति बनाउन अत्यावश्यक छ ।

योजनाबद्ध रूपमा निगरानी, परीक्षण, आइसोलेसन, उपचार क्षमता प्रवर्द्धन तथा खोप ल्याउने काममा निष्क्रिय हुने छुट हामीलाई छैन । हामी आम जनता यो प्रजातिबाट आत्तिनु पर्दैन । यसको घातकता अर्को कोरोना भाइरसभन्दा बढी छैन र अहिले बनेका खोप यो प्रजातिका लागि पनि उपयोगी हुने भनेर वैज्ञानिकहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर