सन् २०२० मा विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या वृद्धि भएको छ । कोरोना महामारीका कारण उडानको संख्या घट्दासमेत अन्य वर्षभन्दा यसवर्ष विमान दुर्घटनामा धेरैले ज्यान गुमाए ।

डचको उड्डयन परामर्श संस्था टो७० ले सन् २०२० मा विश्वभरी २९९ जनाको मृत्यु भएको जानकारी प्राप्त गरेको छ । सन् २०१९ मा २५७ को ज्यान गुमेको थियो ।

कोभिड–१९ का बेला कडा प्रतिबन्धबीच उडानमा व्यापक कटौती हुँदासमेत यस्तो घटना निम्तिएको हो ।

फ्लाइटराडार २४ का साइटका अनुसार गत वर्ष व्यावसायिक उडानमा ४२ प्रतिशत कटौती भएको थियो ।

टो७० द्वारा जारी गरिएको एक वक्तव्यमा यो यहाँ संसारभरी घटित सबै विमान दुर्घटनालाई समावेश गरिएको छ । यसमा गैरकानूनी हस्तक्षेप जस्तै विमानलाई गोली हानेर खसालिएको घटना पनि समावेश छ ।

यसमा सन् २०२० को जनवरीमा युक्रेन इन्टरनेशनल एयरलाइन्सको फ्लाइटलाई गोली हानेर खसालिएको घटना पनि समावेश छ । इरानले घटनामा ज्यान गुमाउने प्रत्येक परिवारलाई १ लाख ५० हजार डलर क्षतीपूर्ती दिने योजना बनाएको छ । यो घटनामा १७६ जनाको मृत्यु भएको थियो ।

यसमा गत मेमा पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआइए) को विमान कराँचीको शहरमा दुर्घटनाग्रस्त हुँदा ज्यान गुमाउनेको संख्या पनि समावेश छ । यस दुर्घटनामा ९८ जनाको मृत्यु भएको थियो ।

टो७० ले संकलन गरेको जानकारी अनुसार गत वर्षको तुलनामा यसपटक दुर्घटनाको संख्यामा भने कमी आएको छ । सन् २०१९ मा ८६ वटा विमान दुर्घटना भएका थिए भने सन् २०२० मा ४० वटा विमान दुर्घटनामा परे । ४० मध्ये पाँच दुर्घटनामा मात्रै मानिसहरुको ज्यान गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय