
अमेरिकी संसद्को माथिल्लो सदन सिनेटमा डेमोक्रेटिक पार्टी नियन्त्रण कायम गर्ने दिशामा एक कदम अघि बढेको छ ।
मंगलवार जर्जियामा सिनेटका लागि भएका दुई निर्वाचनमध्ये एकमा डेमोक्रेटिक पार्टीका रफाएल वारनोक निर्वाचित भएका छन् ।
उनले रिपब्लिकन पार्टीका बहालवाला सिनेटर केली लोफलरलाई हराएका हुन् । त्यहाँबाट सिनेटमा चुनाव जित्ने उनी काला जातिका पहिलो डेमोक्रेट उम्मेदवार हुन् ।
राष्ट्रपति–निर्वाचित जो बाइडनले आफ्ना एजेन्डाहरू सहज तरिकाले लागू गर्नका लागि सिनेटमा नियन्त्रण कायम गर्नुपर्ने हुन्छ । तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा डेमोक्रेटहरूको बहुमत छ ।
सिनेटमा नियन्त्रणका लागि जर्जियाका दुईवटा सिनेट सीट आवश्यक पर्छन् । एउटा सीटमा डेमोक्रेट विजयी हुँदा अब अर्को सीट पनि जितेमा रिपब्लिकनहरूले सिनेटमा बहुमत गुमाउँछन् र बाइडनलाई अड्काउन सक्दैनन् ।
अर्को सीटमा रिपब्लिकन उम्मेदवार डेभिड पर्ड्यु र डेमोक्रेटिक प्रतिस्पर्धी जोज ओस्सोफ लडेका थिए । त्यहाँको मतगणना भइरहेको छ ।