अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले राजधानी वासिङ्गटन डिसीस्थित संसद भवनमा आक्रमण गरेका छन् । ट्रम्पले पराजित भएको चुनावमा आफू विजयी भएको भन्दै प्रमाण बिहीन दाबी गरिरहेको र त्यसैको समर्थनमा हिंसात्मक प्रदर्शन भएको हो।
संसद सदस्यहरुले गएको नोभेम्बर ३ मा भएको चुनावमा राष्ट्रपतिमा विजयी भएका डेमोक्र्याटिक उम्मेद्वार जो बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्ने क्रम सुरु गरेका बेला हतियारधारी ट्रम्पका समर्थकले संसद भवनमा आक्रमण गरेका हुन ।
हतियार बोकेका ट्रम्पका समर्थकहरुले राजधानी वासिङ्गटन डिसी स्थित संसद भवनमा प्रवेश गरेर आक्रमणका साथै तोडफोड समेत गरेका हुन । प्रदर्शनकारी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको कार्यकक्षमा प्रवेश गरेर तोडफोड गरेको बताइएको छ ।
ट्रम्पले आफ्ना समर्थकको गतिविधिको बचाउ गर्दै प्रमाण बिहीन आरोप लगाउँदै आएका छन् । आफूले जितेको चुनाव धाँधली गरेर खोसिएका कारण यस्तो भएको उनकोे दाबी छ । ट्रम्पले बिना प्रमाण लगाएको धाँधलीको आरोपका कारण प्रदर्शनले हिंसात्मक रुप लिएको हो । उनले आफ्ना समर्थकलाई घर फर्किन भने पनि प्रमाण बिहीन आरोप लगाउन छाडेका लगाएका छन् ।
प्रदर्शनकारी र प्रहरीबिच भएको झडपमा एक महिलाको ज्यानसमेत गएको छ । सयौँको संख्यामा हतियारधारी ट्रम्प समर्थक चुनावको नतिजा उल्ट्याउनका लागि कांग्रेस भवनमा प्रवेश गरेपछि इलेक्टोरल मतलाई आधिकारिकता प्रदान गर्ने सदनको कार्यक्रम रोकिएको छ ।
हतियारधारी ट्रम्प समर्थकले झण्डै तीन घण्टासम्म संसद भवनमा नियन्त्रण कायम गरेको बताइएको छ । प्रहरीले सांसदहरुलाई भवनबाट निकाल्दै स्थानीय समय अनुसार बुधबार साँझ साढे पाँच बजे मात्रै संसद भवनमा नियन्त्रणमा लिन सकेको थियो । भवन वरपर सुरक्षा व्यवस्थाका लागि झण्डै तीन हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । शहरमा कर्फ्यू लागु भएको छ भने हालसम्म १३ जना पक्राउ परिसकेका छन् ।
राष्ट्रपति पदमामा निर्वाचित जो बाइडेनले भने ट्रम्पका समर्थकबाट बिद्रोही गतिविधि भएको प्रतिक्रिया दिएका छन् । -एजेन्सी



