
अमेरिकी संसद् भवनमा हिंसा निम्तिनुका बाबजुद उपराष्ट्रपति पाइक पेन्सको अध्यक्षतामा सदनको बैठक सुुचारु भएको छ । यता, राष्ट्रपति ट्रम्प निकटका सल्लाहकारहरुले भटाभट राजीनामा गर्न थालेका छन् । यसअघि ट्रम्पका हुल्याहा समर्थकहरुले संसद् भवन कब्जा गर्ने असफल प्रयास गरेका थिए । हिंसात्मक घटनाका दौरान एक महिलाको मृत्यु समेत भयो । यस कदमको विपक्षी डेमोक्रेटिकसहित सत्तारुढ रिपब्लिकन पार्टीकै सदस्यहरुले पनि विरोध गरेका छन् ।
निर्वाचनपछिको नयाँ संसद् सदस्यहरुको यो बैठकले इलेक्टोरल मतको समीक्षा र राष्ट्रपतिमा जो बाइडेनलाई अनुमोदन गर्नेछ । यसअघि इलेक्टोरल कलेजको बैठकमा बाइडेनको पक्षमा ३ सय ६ र ट्रम्पको पक्षमा २ सय ३२ मत खसेको थियो । इलेक्टोरेल कलेज नै अमेरिकाको राष्ट्रपति चयन गर्ने आधिकारीक निकाय हो, यसले गरेको फैसलालाई कंग्रेसले अनुमोदन गर्ने गर्छ ।
निर्धारित कार्यतालिकाअनुसार २० जनवरीमा जो बाइडेनले राष्ट्रपतिको सपथ लिनेछन् ।
ट्रम्पका सल्लाहकारहरुद्वारा राजीनामा
संसद् भवनमा निम्तिएको हिंसापछि ट्रम्प पत्नी अर्थात् अमेरिकी फस्र्ट लेडी मेलानिया ट्रम्पका शीर्ष दुई सहयोगीहरुले बुधबार पदबाट राजीनामा दिएका छन् । स्रोतअनुसार अन्य धेरै शीर्ष अधिकारीहरु पनि राजीनामा दिने विषयमा विचार गर्दैछन् । राजीनामा गर्दै मेलानियाकी चिफ अफ स्टाफ स्टेफनी ग्रिशमले भनेकी छिन्, ‘ह्वाइट हाउसमा देशको सेवा गर्नु सम्मानको कुरा हो । श्रीमती ट्रम्पको मिसनको हिस्सा बन्न पाएकोमा मलाई गर्व छ ।’ मेलानियाको चिफ अफ स्टाफ बन्नुुअघि ह्वाइट हाउसको प्रवक्ता रहेकी ग्रिशमले हिंसाका कारण राजीनामा दिएको विषय कहीँ खुलाएकी छैनन्, तर ह्वाइट हाउस स्रोतले भने हिंसात्मक प्रदर्शनकै कारण उनले राजीनामा दिएको र अन्य धेरै अधिकारीहरुको पनि राजीनामा आउनसक्ने जनाएको छ । यस सूचीमा राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ ब्रायन र उनका सहयोगी म्याथ्युपोन्टिगरको नाम पनि समावेश छ ।