काठमाडौं। सामाजिक कार्यबाट चर्चामा आइरहेका बलिउड अभिनेता सोनू सूदविरुद्ध उजुरी दर्ता भएको छ।

मुम्बई महानगरपालिका (बीएमसी) ले सोनूविरुद्ध प्रहरीमा उजुरी दर्ता गराएको हो। मुम्बईस्थित जूहू क्षेत्रमा रहेको व्यापारिक घरलाई उनले होटलमा परिणत गरेको आरोप लागेको छ।

बीएमसीले घरलाई विनाअनुमति होटलमा परिणत गर्नु गैरकानुनी भएको भन्दै कारबाहीको माग गरेको हो। बीएमसीले महाराष्ट्र रिजन एण्ड टाउन प्लानिङ (एमआरटीपी) धारा अनुसार उजुरी दर्ता गरिएको जनाएको छ। मुम्बईमा जुन प्रयोजनका लागि घर बनाइएको हो त्यो भन्दा अर्को प्रयोजनका लागि प्रयोग गर्न पाइँदैन। त्यस्तो गर्नु परेको खण्डमा अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ।

उजुरी परेपछि सोनूले आफूले प्रयोजन परिवर्तनका लागि बीएमसीसँग अनुमति मागेको जनाएका छन्। उनी अनुमतिको पर्खाइमा थिए। तर, कोरोना महामारीका कारण अनुमति नमिलेको जनाएका छन्।

यो विषयमा मुम्बई प्रहरीले अनुसन्धान थालेको छ। थप अनुसन्धानपछि सोनूविरुद्ध एफआईआर दर्ता गरिनेछ। सोनूविरुद्ध चार जनवरीमा उजुरी दर्ता भएको थियो। त्यसपछि प्रहरीले उनलाई नोटिस पठाएको थियो। तर, नोटिसको जवाफ नआएको प्रहरीको आरोप छ।

कोरोना महामारीको समयमा उनी निकै चर्चामा आएका थिए। समस्यामा परेकालाई सहयोग तथा उद्धारमा सक्रिय रहेका उनले किसानहरूलाई समेत मद्दत गर्दै आएका छन्।

यसअघि बीएमसीले बलिउड नायिका कंगना रनौतको अफिसमासमेत तोडफोड गरेको थियो। मापदण्डविपरीत अफिस निर्माण गरेको भन्दै अफिसको किचेन, बाथरूम, स्टोररूम भएको क्षेत्रमा तोडफोड गरेर हटाएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर