एजेन्सी । बेलायत सरकारले मंगलबार १ डिसेम्बरदेखि 
अंकमा आधारित भिसा प्रणाली शुरु गरे पछि नेपाली लाभान्वित हुने भएका छन् । बेलायतले युरोपेली संघ (ईयू) छाडेपछि संसारभरिका 
प्रतिभावान तथा दक्ष कामदार भित्रयाउन नयां 
प्रणाली शुरु गरे पछि त्यसको प्रभाव नेपालीलाई पनि पर्ने भएको हो । नेपालीले पनि त्यसको लाभ लिन पाउने छन् ।

ईयू मुलुकका बासिन्दा लगायत सबै विदेशी नागरिकहरुले १ डिसेम्बर २०२० देखि नै आवेदन दिन पाउनेछन् र आउंदो 
जनवरी १, २०२१ देखि बेलायतमा काम गर्नका लागि अनुमति दिइने छ । अनलाइनबाट भिसा आवेदन गर्न सकिने छ । ‘स्कील्ड वर्कर भिसा’ का लागि रोजगारदाताबाट जागिरको अफर, अंग्रेजीमा निपुण र कमाइ वार्षिक न्यूनतम २५ हजार ६ सय पाउण्ड हुन अनिवार्य छ ।

आवेदकले आफ्नो पहिचान प्रमाणित र कागजात उपलब्ध गराउनु पर्नेछ । आप्रवासी कामदारहरुले भिसाका लागि योग्य हुन कुल ७० अंक ल्याउनु पर्नेछ जसमा मान्यताप्राप्त रोजगारदाताबाट दक्ष सीपयुक्त जागिरको अफरले ४० अंक, अंग्रेजी भाषाबाट १० अंक र वार्षिक तलव कम्तीमा २५ हजार ६ सय 
हुंदा २० अंक प्राप्त गर्न सक्नेछन् ।

भिसा आवेदन शुल्क ६१० देखि १ हजार ४ सय ८ पाउण्ड, हेल्थकेयर सरचार्ज ६२४ पाउण्ड (प्रतिवर्ष) र आफ्नो खर्चका लागि कम्तीमा एक हजार २ सय ७० पाउण्ड सञ्चित हुनुपर्नेछ । बेलायत बाहिरका आवेदकलाई सबै प्रक्रिया पुरा गरेपछि भिसाको निर्णय तीनसाताभित्र दिइने र भिसा अवधि ५ वर्षसम्म हुने सरकारले जनाएको छ ।

गृहमन्त्री प्रीति पटेलले सरकारले ईयूसंग खुल्ला आवतजावत अन्त्य, आफ्नो सीमा नियन्त्रण फिर्ता र नयां अंकमा आधारित अध्यागमन प्रणाली लागू गर्ने प्रतिज्ञा पुरा गरेको बताएकी छन् । एक विज्ञप्तिमा उनले सामान्य, प्रभावकारी र लचिलो यो प्रणालीले रोजगारदातालाई आवश्यकता अनुसार दक्ष जनशक्ति भर्ना गर्न र बेलायतको ‘वर्क फोर्स’ लाई प्रशिक्षित र लगानी गर्न प्रेरित गर्ने बताइन् ।

३१ डिसेम्बरमा ब्रेक्जिट (बेलायत ईयूबाट बहिगर्मन) को संक्रमणकालिन अवधि अन्त्यसंगै बेलायत ईयू खुल्ला आवतजावत बन्द हुंदैछ । १ जनवरीदेखि युरोपेली र अन्य मुलुकका नागरिकका लागि समान अध्यागमन नियम लागू हुनेछ । बेलायत ईयू सदस्य हुंदा युरोपेली नागरिकलाई बेलायतमा चाहेजति बस्न र काम गर्न अधिकार थियो ।

सरकारले भिसाका अरु रुट पनि खुल्ला गरिएको जनाएको छ । इन्जिनियरिङ, विज्ञान, प्रविधि, मानवशास्त्र, मेडिसिन, कला र संस्कृतिका क्षेत्रमा असामान्य प्रतिभा भएका व्यक्तिलाई ग्लोवल ट्यालेन्ट भिसा र व्यवसायिक दक्षता एवं नयां सृजनात्मक सोच भएका व्यक्तिलाई इनोभेटर र स्टार्ट अप भिसाको रुट पनि खोलिएको छ ।

विश्वभरका अन्तर्राष्ट्रिय विद्यार्थीका लागि भने गत ५ अक्टोबर, २०२० मै खुल्ला भइसकेको थियो । सरकारको नयां घोषणाले नेपालबाट पनि दक्ष जनशक्ति बेलायत भित्रन बाटो खुलेको छ । ‘उच्च दक्ष व्यक्तिलाई बेलायत आउने 
यो राम्रो अवसर हो’, लन्डनका एकजना सोलिसिटर राजु थापा भन्छन्, ‘ईयूसंग अलग्गिएपछि बेलायतले दक्ष जनशक्ति अभाव पुरा गर्न यो रणनीति ल्याएको देखिन्छ ।’ नेपाली लिंकको सहयोगमा ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय