काठमाडौं। निश्चित उमेर नपुगेका बालबालिकासँग सहमतिमै राखिएको यौन सम्बन्ध पनि बलात्कार मानिन्छ । नेपालमा यौन सम्बन्धको लागि सहमत हुन कम्तीमा १८ वर्ष उमेर पुगेको हुनुपर्छ । अर्थात १८ वर्ष नपुगेका कसैसँग पनि राखिएको यौन सम्बन्ध बलात्कार ठहरिन्छ चाहे त्यो सहमतिमै भएको किन नहोस् । केही देशहरुमा यो उमेर २० वर्ष वा सोभन्दा बढी पनि तोकिएको छ । तर, फिलिपिन्समा भने १२ वर्ष उमेर पुगेपछि सहमतिमा यौनसम्बन्ध राख्न पाइन्छ र यसलाई अपराध मानिँदैन ।अब भने फिलिपिन्सले यो उमेरको सीमालाई परिमार्जन गरेर नयाँ कानुन बनाउने तयारी गरेको छ । बाल अधिकारकर्मीहरुले यौनको लागि सहमति दिने उमेर र बालबालिकामाथि हुने यौन अपराधको बीचमा सम्बन्ध पाइएको भन्दै आवाज उठाएपछि अब फिलिपिन्सले कानुन परिमार्जन गर्न लागेको हो । दशकौंदेखिको मागपछि अब फिलिपिन्सले यौन सम्बन्धको लागि सहमत हुने उमेर अर्थात एज अफ कन्सेन्टमा परिमार्जन गर्दैछ । यसको लागि प्रक्रिया सुरु भएको छ ।

द इकोनोमिस्टको रिपोर्टअनुसार फिलिपिन्समा वयस्कहरुको तुलनामा बालबालिकाहरुमाथि भएका बलात्कारका घटनाहरु धेरै दर्ता भइरहेका छन् । यहाँ मोटामोटी रुपमा हरेक ५ मध्ये एक बालबालिका अर्थात करिब २० प्रतिशतले यौनशोषणको सामना गर्नुपरेको छ । कोरोना लकडाउनको क्रममा बालबालिकामाथि अनलाइन शोषणका घटनाहरु पनि बढेको पाइएको छ ।फिलिपिन्स निकै धार्मिक देश हो र यहाँका अधिकांश जनता रोमन क्याथोलिक क्रिस्चियन छन् । भ्याटिकनपछि फिलिपिन्स विश्वको एकमात्र अर्को देश हो जहाँ सम्बन्धविच्छेद गैरकानुनी छ । यद्यपि यहाँ मुस्लिमहरुले भने सम्बन्धविच्छेद गर्न पाउँछन् । मुस्लिमबाहेक अरु धार्मिक समुदायका मानिसले भने सम्बन्धविच्छेद गर्न पाउँदैनन् ।बाल अधिकारको लागि काम गरिरहेका संगठनहरुले यौनको लागि सहमत हुने उमेर बढाउँदा आपराधिक घटनामा कारवाही गर्न सहज हुने बताएका छन् । यसबाट बालबालिकाको यौन शोषणका घटनामा बलात्कारको मुद्दा चलाउन सकिने उनीहरुको तर्क छ । दशकौंसम्म कानुनमा परिवर्तनको माग अस्वीकार गर्दै आएको फिलिपिन्स सरकारले अब भने कानुन परिमार्जन सुरु गरेको छ ।

डिसेम्बरमा देशको तल्लो सदनले एज अफ कन्सेन्टलाई १६ वर्ष बनाउने विधेयक पारित गरेको छ । अब यो विधेयकलाई माथिल्लो सदनमा पेश गरिनेछ । माथिल्लो सदनबाट पारित भएपछि यो विधेयकलाई राष्ट्रपति रोड्रिगो दुतेर्तेले स्वीकृत गरेर नयाँ कानुन लागू गराउने अपेक्षा गरिएको छ । दुतेर्ते स्वयंले पनि सानैमा एक पादरीले आफ्नो यौनशोषण गरेको बताएकोले उनले यो कानुन स्वीकृत गर्ने विश्वास गरिएको छ । विशेषज्ञहरुले भने कानुन परिवर्तनपछि मानिसको सोच परिवर्तन गर्नुपर्ने र यो झनै कठिन हुने भएकोले एज अफ कन्सेन्ट परिवर्तन गर्नु सुरुवात मात्र हुने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय