पूर्वप्रधानमन्त्री तथा विभाजित नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीलाई देशको चिन्ता नभएको बताएका छन् । ओलीको एकलौटी पनले देशलाई अफ्ठेरोमा पारेको उनले आरोप लगाए । शुक्रबार बिहान प्रेस संगठनले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले भने, ‘ओलीलाई देशको चिन्ता छैन, संविधानको चिन्ता छैन । जनताको चाहनामाथि खेलबाड गर्नेकाम ओलीबाट भएको छ ।’ साथै नेता नेपालले ओलीको पक्षमा जनता धेरै नरहेको भन्दै बिहीबार गरिएको कार्यक्रमको प्रसंशा गरे । उनले भने, ‘ओलीको कदम कत्तिको ठिक हो भन्ने कुरा हिजो कर्णालीले पुष्टि ग¥यो नी ! उनले संविधानमाथि ‘कु’ गरेका छन्, अब जनता जाग्नुपर्छ।’
नेता नेपालले नेकपाको आधिकारिकता आफूहरुमै निहीत रहेको दाबी गरेका छन् । ‘हामी आधिकारिक हौँ, दुई तिहाईभन्दा बढी केन्द्रीय कमिटी, स्थायी कमिटी हामीसँगै छ, तत्काल हामी केपी अोलीलाई साधारण सदस्य समेत नरहने गरेर हटाउँछौँ । उनले सूर्य चिन्ह आफ्नो भएको पनि दावी गरेका छन्।पत्रकार सम्मेलनमा बोल्दै नेपालले भने,‘ जति सूर्य चिन्हको माया हामीलाई छ, त्यती ओलीलाई छैन । पार्टीको विधान हेर्नेुहोस्, जसरी भएपनि सूर्य चिन्ह हाम्रो हुन्छ । रातारात केन्द्रीय कमिटीमा संख्या बढाउँदैमा नेकपा र सूर्य चिन्ह ओलीले पाउँदैनन्।’



